काठमाडौँ । काठमाडौंस्थित भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आउन लागेको हो ।

टंगाल स्टोर पुनः सञ्चालनसँगै ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ ।
गत वर्ष भदौ २४ पछि भएको आगजनीमा भाटभटेनीका विभिन्न स्टोरमा क्षति पुगेको थियो । अध्यक्ष मीनबहादुर गुरुङका अनुसार आगजनीबाट ध्वस्त भएका १२ मध्ये हालसम्म १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् । दमक र हेटौंडाका स्टोर पुनःनिर्माणको अन्तिम चरणमा छन् ।
कम्पनीले आगजनीपछि १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ । कर्मचारीलाई रोजगारीबाट अलग नगरेको र गत वर्षको दसैं बोनससमेत कटौती नगरेको कम्पनीको भनाइ छ ।

