५ आश्विन २०८३, सोमबार 1789986450
Banner

नेकपा एमालेः मुल मुद्दाभन्दा बाहिर अलमलिएको नेतृत्व

पुष्कर कडेल

जबसम्म समाज सत्य, न्याय, र समग्र प्रगतिको पक्षमा दृढ भएर उभिन सक्दैन्, तबसम्म देशले खलनायकरूबाट नायक खोजिरहन्छ। अराजकता पद्धति बन्छ र आतंक पनि क्रान्ति बन्छ। भ्रमपूर्ण नकारात्मक भाष्यको बजारीकरण हुन्छ र खराब पात्रहरूको देवत्वकरणमा देश रमाउन बाध्य र अभ्यस्त बन्छ।

अहिले नेपालमा जे भइरहेको छ, ति सबै अराजकता, आतंक, र भ्रमको उपज हो। सत्य कहिंकतै भेटिदैन्। त्यसमाथि मूलधारका मिडियाहरूले सत्य, न्याय र लोकतन्त्रको पक्षमा उभिन नसक्दा सामाजिक सञ्जाल र डिजिटल मिडियाहरूमार्फत निर्माण गरिएको भ्रमपूर्ण नकारात्मक भाष्यको बजारीकरण र खराब पात्रहरूको देवत्वकरण सहज बन्यो। अनि देशविरूद्ध गतिविधिहरू हुँदा पनि आमनागरिक त्यसका विरूद्ध बोल्न नसक्ने अवस्था बन्न पुग्यो। हुँदाहुँदा राजनीतिक दलहरू र त्यसका नेतृत्व पनि सार नै नबुझी विवाद गर्दैछन् र विभाजनको आधार बनाउँदैछन्।

यो लेखमा नेकपा एमाले भित्र भइरहेका गतिविधिहरूमा केन्द्रीत भएर मेरो विश्लेषण पाठकहरू समक्ष पुर्याउने प्रयत्न गरेको छु। मेरो विश्लेषणमा रूप पक्षमात्र हेर्दा केहीलाई पूर्वाग्रहपूर्ण पनि लाग्न सक्छ। तर सारमा खोजियो भने बलियो कम्न्युनिष्ट आन्दोलन र एमालेको स्वार्थ भेटिन्छ।

यतिबेला एमालेको नेता तथा कार्यकर्ताहरू खासगरी मुल नेतृत्वमा रहेका पात्रहरू “दुई दिने भदौं आतंक र त्यसको जगमा भएको फागुन २१ को चुनावी परिणामलाई” लिएर विवाद गर्दैछन्। जबकि आजको मुख्य मुद्दा एकताबद्ध भएर हिजो के भयो। त्यसको वस्तुनिष्ठ समीक्षा गर्दै भोलिका लागि के के गर्नुपर्छ भन्ने कुरामा वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा बलियो बन्ने र जनतासँग जोडिने नीति, रणनीति र कार्यनीति बनाउन केन्द्रीत हुनुपर्थ्यो। तर मूल नेतृत्वमाथि दोष थोपर्ने र नेतृत्वलाई एक्ल्याउने असान्दर्भिक मुद्दामा अल्झिदा एकातिर समय र सामार्थ्य खेर गइरहेको छ भने अर्कातिर कम्न्युनिष्ट आन्दोलन, एमाले र देश विरोधीहरू रमाउने अवस्था बन्दैछ।

आजको राजनीतिको सार पक्ष बुझ्नका लागि घटनाहरूको रूप र सार पक्ष छुट्याएर विश्लेषण गर्ने क्षमता हामीमा हुनुपर्छ। साथै घटनाहरूको देखिएको रूप होइन नदेखिएको सार आमजनतालाई बुझाउने प्रभावकारी अभियान चलाउनु पर्छ। यसका लागि सामाजिक सञ्जाल, डिजिटल मिडिया र मूलधारका मिडियाहरूलाई सकारात्मक र रचनात्मक प्रयोग गर्नुपर्छ। घरदैलो अभियान चलाउनु पर्छ। अहिले एमालेका नेता तथा कार्यकर्ताहरू वैचारिक र सांगठनिक रूपमा स्पष्ट नहुँदा भाष्य युद्ध (न्यारेटभ वार) मा कमजोर देखिएका छन र अनावश्यक रूपमा विवादमा फस्दैछन। एमालेको यो विवाद र अलमललाई दिनमा स्टन्ट गर्ने र रातमा स्ट्याटस् लेख्ने पात्रहरूले महान अवसर ठानेका छन।

मेरो बुझाइमा “मान्छेहरूको चरित्र निर्माण र व्यवहारमा उनीहरूले प्राप्त गरेको शिक्षा, सँगत र समयको प्रभावको भूमिका हुन्छ।” यो कुरो हामीले पौराणिक साहित्यहरू पढ्दा र हाम्रा अभ्यासहरूमा स्पष्ट देख्न अनुभव गर्न सक्छौं। पौराणिक साहित्यमा पढ्न पाईन्छ, रत्नाकार डाकु सप्तर्षिहरूको सँगतमा परेर महर्षि वाल्मीकि बने, महाकाव्य रामायण लेखे। तर खराब सँगतले महापण्डित विद्वान रावण दैत्यका रूपमा परिणत भए। त्यसैगरी हाम्रो बौद्धिक समुदायमा पनि केहि चर्चित पात्रहरू देश र लोकतन्त्रका विरूद्धमा उभिन र गतिविधिहरू गर्न रमाएको अवस्था छ। उदाहरणको रूपमा डा। बाबुराम भट्टराई र डा। स्वर्णिम वाग्लेलाई लिन संकोच मान्नु परेन।

आज बुझ्नैपर्ने कुरा के हो भने “ठीकलाई ठीक र खराबलाई खराब भन्ने सामर्थ्य हामीमा विकास नहुँदा आतंक क्रान्ति बन्यो भने आतंकमा संलग्न हुनेहरूले आफूलाई क्रान्तिकारी ठाने।” भदौंको दुई दिने होस् वा उतिबेलाको दश वर्षे आतंकमा राज्यका संयन्त्रहरूले जानेर नजानेर सघाएको अवस्थालाई नकार्न सकिन्न। परिणामस्वरूप विषाक्त लोकप्रियतावादले मौलाउने वातावरण बन्यो, विचारहीन राजनीति हावी भयो र खराब पात्रहरू जनता झुक्याउन सफल हुँदा देश र लोकतन्त्र महासंकटमा परेको छ।

फागुन २१ को चुनावको परिणाम जनादेश थियो कि अरू कुनै आशिर्वाद र आदेश भन्ने कुरा बिस्तारै चर्चा हुन थालेको छ। वास्तवमा बालेन नेतृत्वको सरकार बन्नुमा रूपमा जनादेश देखिन्छ भने सारमा सेनादेश भेटिन्छ। यो कुरोमा हामी स्पष्ट हुनुपर्छ। अन्यथा लोकतान्त्रिक प्रणालीको प्रयोग गरेर लोकतन्त्रमात्र होइन देश नै खतम बनाउने षडयन्त्रको सिकार हुन हामी तयार हुनुपर्छ। मैले नबुझेको नेकां र एमालेका नेताहरू राष्ट्रिय मुद्दा छोडेर आन्तरिक कलहमा किन व्यस्त छनरु गगन थापा र शंकर पोखरेलहरूले भोलि उत्तर दिन नसक्ने समय आउनेछ।

नेकपा एमालेमा पुनर्गठन र पुनर्संरचनाको चर्चा व्यापक बनाएर विष्णु पौडेल र शंकर पोखरेलहरूले केपी ओलीलाई कमजोर देखाउन र बनाउन खोज्दा आफै कमजोर बनिरहेको बुझिरहेका छैनन्। कम्न्युनिष्ट आन्दोलन र एमाले विरोधीहरूले पौडेल र पोखरेलहरूको गतिविधिहरूलाई प्राथमिकताका साथ चर्चामा ल्याएका छन। पूर्वराष्ट्रपति विद्या भण्डारी पनि पौडेल र पोखरेलहरूको पक्षमा उभिएको देखिन्छ। फेरि पार्टीभित्र देखिएको विवाद न्यूनिकरण गर्दै पार्टीलाई बलियो बनाउन केपी ओलीले समयानुसार निर्णय लिन सकिरहेका पनि छैनन्।

“राजनीति विचार, विधि र संगठनले मात्र चल्दैन, राजनीतिक पात्रहरूले एउटाको ख्यातिमा अर्कोको राजनीतिक प्रगति र देशको उन्नति देख्न सक्नुपर्छ। साथै राजनीतिको उचाईंमा पुगेपछि चुचुरोबाट ओर्लिने र अर्कोलाई चुचुरो पुर्याउने त्याग र योगदान पनि गर्न सक्नुपर्छ।” हाम्रो राजनीतिमा यस्तो संस्कार र अभ्यासको अभाव देखियो। त्यसैले त आतंकको जगमा डेमोक्र्यासी प्रयोग गरेर ब्रोक्र्यासी ल्याइयो। भद्रकालीको आशिर्वाद मिलाइयो।

यतिखेर एमालेका नेता तथा कार्यकर्ताहरूले जनताको बहुदलीय जनवाद (जबज) मर्मअनुसार चल्ने सङ्कल्प गर्नुपर्छ र जबजले देखाएको बाटोबाट हिंड्न थाल्नुपर्छ। देश र जनतालाई केन्द्र भागमा राखेर नीति बनाउने, नेतृत्व चयन गर्ने र पार्टी चलाउने इमानदारीका साथ नयाँ सङ्कल्प गर्दै सुदृढ एकताका साथ अघि बढ्नुपर्छ।

निकट विगत साक्षी छ, “नेकपा हुँदै एमाले कालमा केपी ओलीको ख्यातिमा माधव, झलनाथ र प्रचण्ड ९माझण्ड० हरूले आफ्नो प्रगति र प्रतिष्ठा नदेख्दा हिजो कम्न्युनिष्ट आन्दोलन विभाजित भएर क्षति व्यहोर्नु पर्यो। त्यही क्षतिमा विषाक्त लोकप्रियतावाद जन्मियो।” यही प्रकृतिको अर्को गल्ति गर्नुहुन्न भन्ने कुरो एमालेका नेता तथा कार्यकर्ताहरूले बुझ्नुपर्छ। भावनात्मक रूपमा बहकिएर धारणा बनाउनु हुँदैन् किनभने पार्टी राजनीति भावनाले होइन, विचार, नीति र सही नेतृत्वले मात्रै अघि बढ्छ। यसको अर्को कुनै विकल्प पनि हुँदैन्।

हामीले राजतन्त्रको विकल्पमा लोकतान्त्रिक गणतन्त्र ल्याएका हौं। राजतन्त्रमा वंश परम्पराले प्राथमिकता पाउँछ भने गणतन्त्रमा वंशले होइन, विचार र कर्मको श्रेष्ठताले प्राथमिकता पाउँछ। जबजको मूल ध्येय पनि यही हो। त्यही जगमा विधान महाधिवेशन भयो, महाधिवेशनले विधि र नीति तय गर्यो अनि लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने क्षमता पनि देखायो। तर परिस्थितिमा हिजोभन्दा आज व्यापक परिवर्तन आएको छ, यो कुरो सबैले स्विकार पनि गर्नुपर्छ।

“पार्टी राजनीति भनेको वैचारिक रूपमा स्पष्ट हुने, सांठनिक रूपमा एकताबद्ध हुने अनि न्यायिक र व्यावहारिक रूपमा अवसरहरूको वितरण पनि हो।” एउटा पात्रले मात्रै अवसर पाइरहने पद्धति लोकतान्त्रिक पार्टी राजनीतिमा चल्दैन्। त्यसैले नेतृत्व परिवर्तन भन्ने बित्तिकै समयान्तरमा नयाँ र सही मान्छेलाई सही ठाउँमा चयन गर्ने भन्ने हो। पार्टीमा एउटै व्यक्तिले अवसर पाइरहने र नेतृत्वमा निरन्तरता भइरहने कुरो कुनै पनि कोणबाट न्यायोचित होइन र हुन सक्दैन्।

अहिलेसम्म केपी ओली तीन पटक पार्टी अध्यक्ष र पटक(पटक गरेर लगभग पाँच वर्ष प्रधानमन्त्री भइसक्नु भएको छ भने विद्या भण्डारी राष्ट्र कै सर्वोच्च पद राष्ट्रपति दुई पटक बनिसक्नु भयो। अब उहाँहरूको भूमिका पछाडि बसेर देशलाई अभिभावकत्व दिने र पार्टीमा किङमेकरको भूमिकामा देखिनु पर्छ न कि प्रत्यक्ष पार्टी राजनीतिमा सक्रिय बन्ने चाहाना देखाएर गतिविधिहरू गर्ने। मेरो बुझाइमा, “केपी ओली र विद्या भण्डारीहरूले आफ्ना अगाडि आएका ऐतिहासिक कार्यभार, अवसर र जनचाहानालाई बुझेर असल परम्परा बसाल्ने गरी अघि बढ्नुपर्छ।”

“जबजले प्रतिस्पर्धाबाट श्रेष्ठतामात्र खोजेको छैन, विवेकमा परिपक्वता, विचारमा स्पष्टता र व्यावहारमा लोकतान्त्रिक अनि अवसरहरूको न्यायिक वितरण पनि खोजेको छ।” प्रश्न उठ्न सक्छ, यो कुरो मदन भण्डारीले कहाँ र कहिले भन्नु भएको थियो ररु यहाँ उत्तर शब्द र रूपमा होइन, भाव र सारमा खोज्नुपर्छ। वैचारिक र परिपक्व नेतृत्वले सधैं रूप र सार पक्ष छुट्याउने ल्याकत राख्छ र समयको मागअनुसार वैचारिक रूपमा आफ्नो स्थान तय गर्न सक्षम हुन्छ अनि उत्तेजनामा आएर प्रभावमा परेर कुनै निर्णय गर्दैन।

स्विकार गर्नुस् नगर्नुस् तपाईंको कुरो, “यतिबेला यो कोण र त्यो कोणबाट केपी ओलीलाई बदनाम देखाउने, कमजोर बनाउने र सफल हुन नदिने रणनीतिअनुसार भाष्य बनाउने र सो भाष्यअनुसार राजनीति पनि भइरहेको छ।” त्यसैले त केपी ओलीलाई पार्टी अध्यक्षबाट हटाउने प्रश्नले ठाउँ पाएको छ। अनि त देशभित्र र बाहिरबाट एकैसाथ ओलीमाथि प्रहार भइरहेको छ। रूपमा ओलीको विरोध देखिएतापनि सारमा एमालेलाई कमजोर बनाउने र नेपालमा नियन्त्रित अस्थिरता बढाउने रणनीति लुकेको छ। अचम्म लाग्छ, यो कुरो देश र एमालेलाई माया गर्नेहरूले पनि बुझ्न सकिरहेका छैनन्।

देशको सर्वोच्च पद राष्ट्रपति, कार्यकारी प्रमुखको पद प्रधानमन्त्री र मन्त्री भएर कार्यकारी भूमिका निर्वाह गरेका पात्रहरूदेखि लिएर आमनागरिकहरूले लोकतान्त्रिक राजनीतिमा असल अभ्यास र परम्परा बसाल्ने ढंगले अभिव्यक्ति दिने र गतिविधिहरू गर्ने गर्नुपर्छ। हिजो भएन भनेर आज पनि हुँदैन भन्ने भाष्यबाट मुक्त हुँदै आसावादी भएर असल अभ्यास र परम्परा स्थापित गर्न त्याग र योगदान गर्ने मनोविज्ञानबाट निर्देशित भइरहनुपर्छ।

“समय सधैं बलवान हुन्छ। यसले कहिले हामीलाई शक्तिशाली बनाउँछ भने कहिले भूमिका परिवर्तन गरेर कमजोर पनि बनाउँछ। त्यसैले समयको शक्ति, माग र आवश्यकताहरूलाई चिनेर हामीले निर्यणहरू गर्नुपर्छ र भूमिकाहरू खोज्नुपर्छ।” लहडमा लागेर, भावनामा बगेर अनि प्रभाव र दबाबमा परेर धारणाहरू बनाएर निर्णयहरू गर्ने गलत अभ्यासबाट मुक्त हुनुपर्छ। भोलि एमालेको मुख्य नेता बन्छु र देशको सेवा गर्छु भन्नेहरूले बुझ्नुपर्छ, हिजोआज सञ्जाल र सञ्चारहरूमा आएका धारणाहरू एमालेको पार्टी जीवन र देशको हितमा छैन।

जननेता मदन भण्डारीको सम्मान, जबजको स्विकार्यता र एमालेको प्रभाव जनस्तरमा बढाउने हो भने आगामी दिनमा लिने नीति वैचारिक र बन्ने नेता सक्षम हुनुपर्छ। मेरो बुझाइमा “भोलिका दिनमा एमालेको नेतृत्व न केपी ओलीले गर्ने न त विद्या भण्डारीले नै गर्ने अवस्था बन्नेछ।” किनभने आमनागरिक र कार्यकर्ताहरूले वैचारिक क्षमता र योग्यता भएको नयाँ र परिपक्व नेतृत्व खोजेको छ। त्यसैले केपी ओली, विद्या भण्डारी, विष्णु पौडेल र शंकर पोखरेलहरूले सुझबुझका साथ नेतृत्व निर्माण र विकासमा सकारात्मक भूमिका खेल्नुपर्छ। अरूहरूले त्यसमा रचनात्मक बन्नुपर्छ, अवसरवादी होइन।

समस्या नै समस्या समाधानको आधार हो भने चुनौतीहरू अवसर हुन। यस्ता कुरा न किताबमा पढ्न पाईन्छ न त विद्यालय तथा विश्वविद्यायहरूमा पढाइ हुन्छ। यो त वास्तविक जीवनको भोगाइहरूबाट प्राप्त हुने ज्ञान हो। पार्टी जीवन र राजनीतिमा पनि यी कुराहरू लागु हुन्छन्। त्यसैले “एमालेका नेता तथा कार्यकर्ताहरूले भोलिको नेता खोज्दा पार्टीको पक्षमा पक्षधरता देखाएर धारणा बनाउनु पर्छ, न कि अमूक व्यक्तिका पक्षमा।”

हिजो नेकपा र एमाले कालमा केपी ओलीको विरोध गर्नेहरू आज विद्या भण्डारी नै पार्टी अध्यक्ष बन्न योग्य छिन्, भन्दैछन्। उनीहरू विद्या भण्डारीलाई नेता मान्नका लागि यी कुरा गरिरहेका छैनन्। उनीहरू विभाजन र शासन रणनीतिअनुसार ओलीलाई कमजोर बनाउन अनि ओली र भण्डारीबीचको राजनीतिक सम्बन्ध बिगार्नका लागि पार्टीभित्र र बाहिरबाट गतिविधिहरू गरिरहेका छन्। यो कुरा सम्बन्धित पात्रहरूले बुझ्नुपर्छ।

अन्त्यमा इमानका साथ भन्नुपर्छ, “केपी ओलीले किङमेकर बन्ने मनस्थितिबाट निर्देशित भएर अबको राजनीति गर्नुपर्छ भने विद्या भण्डारीले पार्टी राजनीतिको लोभबाट मुक्त भएर पूर्वराष्ट्रपतिको भूमिकामा रमाउनु पर्छ।” अन्यथा यतिञ्जेल कमाएको ख्याति र प्रगति बालुवामा पानी हाले जस्तै दृश्यबाट हराउनेछ। त्यसैले समयको भाव र मागलाई बुझेर अगाडिको बाटो तय गर्नुपर्छ। एमाले विरोधीहरूको मनोबल बढ्ने गरी बोल्न र गतिविधिहरू गर्न छोड्नु पर्छ।