९ आश्विन २०८३, शुक्रबार 1790379324
Banner

आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौँ-देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ। उक्त मौसम प्रणालीले सुरुमा आफ्नो तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने र त्यसपछि २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर हुने महाशाखाको विश्लेषण छ।

हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, मधेस प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

वर्षासँगै मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तीव्र हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षा र हावाहुरीका कारण विशेषगरी पहाडी तथा तटीय क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम उच्च रहने जनाइएको छ।

मौसमजन्य जोखिमका कारण आम नागरिकको दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहतका कार्यसमेत प्रभावित हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।