३ अर्ब ४ करोडकाे लागतमा रुपन्देहीको बेलहियामा ५ तारे डिलक्स होटल बन्दै
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर (बेलहिया) मा ५ तारे डिलक्स होटल निर्माण भइरहेको छ। अनन्त हस्पिटालिटी लिमिटेडले निर्माण गरिरहेको १३१ कोठाको होटललाई आगामी आर्थिक वर्ष २०८४/८५ भित्र पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने गरी उक्त हाेटल बनाइरहेकाे हाे ।
होटल निर्माणको कुल अनुमानित लागत ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ। आयोजनामा ऋण र इक्विटीको अनुपात ३६ः६४ रहेको छ।

भारत-नेपाल सीमाको प्रमुख व्यापारिक तथा आवतजावतको बिन्दु बेलहिया नजिक निर्माण भइरहेको यो होटल लुम्बिनी जाने मुख्य प्रवेशमार्गमा समेत पर्छ। सीमावर्ती व्यापार, भारतीय पर्यटक तथा लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालन गर्ने योजना छ। सन् २०२६ को जुलाई मध्यसम्म होटल निर्माणको वित्तीय प्रगति करिब ३२ प्रतिशत पुगेको छ। सिभिल संरचनातर्फको काम भने करिब ७८ प्रतिशत सम्पन्न भइसकेको छ।
कम्पनीले सन् २०२६ को अक्टोबर अर्थात् दसैंपछि होटलको भित्री सजावट तथा इन्टेरियरको काम सुरु गर्ने तयारी गरेको छ। त्यसपछि बाँकी निर्माण तथा आवश्यक पूर्वाधार पूरा गरेर आगामी आर्थिक वर्ष भित्र होटल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। कम्पनी कार्यकारी अध्यक्ष कदम केसीको नेतृत्वमा सञ्चालनमा छ। राता इको होल्डिङ्स, भुसाल समूह र गरिमा होल्डिङ्स लिमिटेडलगायत संस्थागत प्रवर्द्धकको लगानी रहेको कम्पनीले होटल सञ्चालनपछि आतिथ्य क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार निर्धारित समयमै निर्माण सम्पन्न गर्नु र सञ्चालनपछि बजारमा आफ्नो उपस्थिति स्थापित गर्नु कम्पनीका मुख्य चुनौती हुने देखिएकाे छ । नेपालको हस्पिटालिटी क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका साथै एउटै होटल परियोजनामा लगानी केन्द्रित भएकाले बजार तथा भौगोलिक विविधीकरण सीमित हुनु पनि चुनौतीका रूपमा रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।

