गरिमा होटलको आम्दानी २० करोड ७० लाख पुग्दा अकुपेन्सी ३१ प्रतिशत मात्रै
काठमाडौं । इटहरीस्थित गरिमा होटल लिमिटेडको आम्दानी र सञ्चालन नाफामा उल्लेख्य सुधार देखिएकाे छ ।
होटलको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा करिब ३० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८२/८३ मा बढेर करिब २० करोड ७० लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म होटलको सञ्चालन आम्दानीमा करिब १०४ प्रतिशतको वार्षिक चक्रवृद्धि वृद्धिदर देखिएको छ।

सञ्चालन आम्दानीसँगै होटलको सञ्चालन नाफा पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा होटलको ईबीआईटीडीए करिब ८ करोड २० लाख रुपैयाँ पुगेको छ। सञ्चालनमा आएको छोटो समयमै कम्पनीको करअघि र करपछिको नाफा पनि सकारात्मक बनेको छ। कम्पनीको कर्जा भारसमेत घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा १.७० गुणा रहेको समग्र कर्जा अनुपात आर्थिक वर्ष २०८२/८३ मा ०.५७ गुणामा झरेको छ।
तर होटलको क्षमता उपयोग भने अझै न्यून छ। आर्थिक वर्ष २०८१/८२ मा २४ प्रतिशत रहेको अकुपेन्सी दर आर्थिक वर्ष २०८२/८३ मा बढेर ३१ प्रतिशत पुगेको छ। होटल सञ्चालनमा आएको अवधि छोटो भएकाले यसको ट्र्याक रेकर्ड पनि सीमित रहेको छ।
होटलको कार्यशील पुँजीको तीव्रता आर्थिक वर्ष २०८२/८३ मा करिब १७४ प्रतिशत पुगेको छ। यसले व्यवसाय विस्तारसँगै कार्यशील पुँजी व्यवस्थापनमा दबाब रहेको देखाएकाे छ। त्यस्तै, कलेक्सन पिरियड बढेर ७३ दिन पुगेको छ।
सुनसरीको इटहरीमा करिब ६ हजार ९१ वर्गमिटर क्षेत्रफलमा फैलिएको होटलमा ७७ वटा कोठा छन्। ‘सोल्टी’ ब्रान्डसँगको फ्रेन्चाइजी मोडलमा ‘सोल्टी वेस्टएन्ड इटहरी’ नामबाट सञ्चालन भइरहेको होटलको सबैभन्दा ठूलो सेयरधनी स्ट्रीम इन्भेष्टमेन्ट कम्पनी प्रालि हो। कम्पनीको १७.४२ प्रतिशत सेयर उक्त कम्पनीसँग छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालकाे प्रतिवेदन अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण कोशी राजमार्गको संगमस्थलमा रहेको होटलले धरान, काँकडभिट्टा तथा विराटनगर विमानस्थलसम्मको पहुँचलाई व्यवसाय विस्तारको आधार बनाएको छ। व्यापारिक, पर्यटकीय तथा ट्रान्जिट यात्रुलाई लक्षित गरेर सञ्चालन भइरहेको होटलले आगामी दिनमा अकुपेन्सी बढाउनुपर्ने दबाब देखिएकाे छ ।
आतिथ्य क्षेत्रमा संगठित तथा असंगठित क्षेत्रका होटलबीच प्रतिस्पर्धा रहेकाले बजारमा आफ्नो हिस्सा बढाउनु पनि कम्पनीका लागि चुनौती रहेको छ। सञ्चालनलाई थप स्थिर बनाउने, अकुपेन्सी र नाफाको मार्जिन बढाउने तथा कार्यशील पुँजी व्यवस्थापन सुधार गर्ने विषय आगामी दिनमा महत्वपूर्ण हुने देखिएको छ।
होटलको ७७ करोड १६ लाख ९० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंकिङ सुविधालाई ‘आईआरएन बीबी’ र २ करोड रुपैयाँको अल्पकालीन बैंकिङ सुविधालाई ‘आईआरएन ए४’ रेटिङ दिइएको छ।

