मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ । बिहीबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गई फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि माथिबाट अचानक पहिरो खसेको प्रहरीले जनाएको छ । जिप विशाल खत्रीले चलाइरहेका थिए ।
पहिरो खसेपछि अस्थायी प्रहरी पोष्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । टोली दिउँसो १ः२० बजे घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो खस्ने समयमा जिपमा कोही पनि सवार थिएनन् । समयमै सतर्कता अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको हो । पहिरोले पुरिएको जिप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल अस्थायी प्रहरी पोष्ट रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ पर्छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

