२२ आश्विन २०८३, बिहिबार 8:34 pm
Banner

मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने एमालेको निर्णय

काठमाडौं-नेकपा एमालेले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले राष्ट्रिय भेलामा प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिका अध्यक्ष-उपाध्यक्ष तथा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराउने निर्णय भएको जानकारी दिए।

बैठकले पार्टीको वडा अधिवेशन मंसिर २६ गते र पालिका अधिवेशन पुस ४ गते गर्ने निर्णयसमेत गरेको छ। वडा तथा पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको भट्टले बताए।

त्यस्तै, विभिन्न कारणले खाली रहेका १३ जिल्लाका जिल्ला कमिटी अध्यक्षको स्थानीय कमिटीले नै गठन गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदन गराई कार्यान्वयनमा लैजाने निर्णय भएको उनले जानकारी दिए।

एमालेको स्थायी कमिटी बैठकमा चारवटा एजेन्डामाथि छलफल भएको थियो। तीमध्ये वरिष्ठ नेता विद्यादेवी भण्डारीको शपथ ग्रहण, संगठनसम्बन्धी प्रस्ताव, केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषय र मधेस प्रदेशको समानुपातिक उम्मेदवार चयनसम्बन्धी विषय एजेन्डामा थिए।

बैठकले मधेस प्रदेशकी समानुपातिक सांसद जैनव खातुनको निधन भएपछि बन्दसूचीमा रहेकी नजमा खातुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा भने शुक्रबार पुनः छलफल हुने भएको छ। स्थायी कमिटीको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने उपमहासचिव भट्टले जानकारी दिए।