२६ आश्विन २०८३, सोमबार 7:24 am
Banner

भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी- बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ ।

पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौँ जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

बेनी –२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम हुने, साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताउनुभयो ।

“नदी कटान र पहिरोका कारण एक सय मिटर दूरीमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबेको छ,” उहाँले भन्नुभयो, “सवारीसाधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको छ ।”

आर्थिक वर्ष २०८१/८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो । हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समाधान हुन नसकेको बताउनुभयो ।

“सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,” उहाँले भन्नुभयो “सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगले तार्ने गरिएको छ ।” भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ ।