भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत देवकोटा चोकदेखि आँखा अस्पतालसम्म सडकमा सञ्चालन गरिएको खाना महोत्सवले मुख्य सडकको आवागमन प्रभावित बनायो । सडक नै कार्यक्रमस्थल बनाइँदा यात्रु र सवारीसाधनले असहजता भोग्नुप¥यो भने ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई चुनौती थपियो । सिद्धार्थनगर र आसपासका बासिन्दालाई लक्षित गरी चेम्बर अफ कमर्स, रुपन्देहीले आयोजना गरेको महोत्सवले स्थानीय खानपान र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्य राखे पनि मुख्य सडकमा कार्यक्रम सञ्चालन गर्दा आवागमन व्यवस्थापन कठिन बनेको थियो । एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई सहज आवागमनमा समस्या हुनसक्ने अवस्थाले सडकमा महोत्सव सञ्चालनको विकल्प खोज्नुपर्ने आवश्यकता देखाएको छ ।

यस्तै, आगामी मङ्सिर १७ देखि २८ गतेसम्म सिद्धार्थ उद्योग वाणिज्य सङ्घले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गर्ने तयारी गरेको छ । यसपटक निजी जग्गा भाडामा लिएर महोत्सव सञ्चालन गर्न लागिएको छ । यसअघि सिद्धार्थ रङ्गशालामा आयोजना हुँदै आएको महोत्सव क्रिकेट मैदान निर्माणपछि उपयुक्त स्थलको अभावमा अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था आएको व्यवसायी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार मेला तथा महोत्सव सञ्चालनका लागि जग्गा भाडामा लिनुपर्ने, महँगो खर्च व्यहोर्नुपर्ने र स्थायी संरचनाको अभावमा व्यवसायीले कठिनाइ भोगिरहेका छन् । व्यापारिक गतिविधि चलायमान बनाउन महोत्सव आवश्यक भए पनि त्यसका लागि व्यवस्थित पूर्वाधार नहुँदा अपेक्षित सहजता हुन नसकेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवामा स्थायी प्रदर्शनीस्थल निर्माण गर्नुपर्नेमा जोड दिए । बुटवलमा प्रदर्शनीस्थलको व्यवस्था भए पनि भैरहवामा त्यस्तो पूर्वाधार नहुँदा व्यवसायी समस्यामा परेको उनले बताए । राज्यले निजी क्षेत्रलाई आवश्यक सुविधा र पूर्वाधार उपलब्ध गराए व्यवसाय विस्तार हुने र त्यसबाट राज्यले प्राप्त गर्ने राजस्वसमेत बढ्ने उनको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले पनि व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न महोत्सव अपरिहार्य भए पनि व्यवस्थित स्थलको अभावले समस्या निम्त्याएको बताए । व्यवसायीलाई पटकपटक जग्गा खोज्नुपर्ने र भाडा तिरेर अस्थायी संरचना निर्माण गर्नुपर्ने बाध्यता हटाउन स्थायी प्रदर्शनीस्थल आवश्यक रहेको उनको भनाइ छ ।
भैरहवा व्यापारिक, पर्यटकीय तथा सीमावर्ती क्षेत्रका रूपमा महत्वपूर्ण रहेकाले यहाँ हुने मेला–महोत्सवले स्थानीय उत्पादन, कृषि, पर्यटन र व्यापारलाई प्रत्यक्ष लाभ पुर्याउन सक्छन् । तर, सडक अवरुद्ध गरेर वा महँगो भाडामा निजी जग्गा लिएर मात्र यस्ता गतिविधि सञ्चालन गर्नुपर्ने अवस्थाले दीर्घकालीन समाधान खोज्नुपर्ने देखिएको छ ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरी भैरहवामा स्थायी प्रदर्शनी तथा महोत्सवस्थल निर्माण गर्न पहल गर्नुपर्ने व्यवसायीको माग छ । व्यवस्थित स्थल निर्माण हुनसके सडक अवरोध घट्ने, व्यवसायीको खर्च कम हुने, सुरक्षाकर्मीमाथिको व्यवस्थापनको दबाब घट्ने र सर्वसाधारणले सहज रूपमा महोत्सवको मनोरञ्जन लिन पाउने अपेक्षा गरिएको छ ।

