३० आश्विन २०८३, शुक्रबार 6:30 pm
Banner

एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लियो

जनकपुरधाम-नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ। समर्थन फिर्ता लिएसँगै एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा रहेका छन्।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्।

एमालेले १५ बुँदे सहमतिका आधारमा प्रदेश सरकारलाई समर्थन गरेको थियो। तर, सहमतिअनुसार सरकार सञ्चालन हुन नसकेको, सुशासन र विकासका क्षेत्रमा अपेक्षित काम नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ।

बजेटमा समेटिएका महत्वपूर्ण योजनाको कार्यान्वयनमा समेत प्रदेश सरकार गम्भीर नदेखिएको एमालेको आरोप छ। सहमति कार्यान्वयनका लागि पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नभएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमालेले स्पष्ट पारेको छ।

एमालेले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशको सत्ता समीकरण प्रभावित हुने भएको छ। चार मन्त्रीको राजीनामापछि प्रदेश सरकारको स्थायित्व र आगामी राजनीतिक समीकरणलाई लिएर नयाँ राजनीतिक बहस सुरु हुने देखिएको छ।