३० आश्विन २०८३, शुक्रबार 8:23 pm
फिचर

जमराको कथा

नेपाली हिन्दू परम्परामा बडादसैँको सुरुआत (घटस्थापना) मा उमारिने ‘जमरा’ र फारसी/मध्य एसियाली (इरानसहित) नौरोज पर्वमा सजाइने ‘सबजेह’ बीचको रूपगत तथा अनुष्ठानिक समानताको प्रसङ्ग मैले यसअघिका दसैँहरूमा पटकपटक सुनेको थिएँ। यसपालि खुला स्रोत (ओपन सोर्स) सामग्री र उपलब्ध अध्ययनहरूका आधारमा यही विषय केलाउँदै यो लेख तयार गरेको छु।

जमरा र सबजेहबीच देखिएको समानता आकस्मिक सादृश्य मात्र होइन भन्नेमै म पुगेको छु। यो नवपाषाणकालीन कृषि-क्रान्ति, वनस्पतिको घरेलुकरण (डोमेष्टिकेसन) र प्राचीन मानवको ऋतु-अनुकरण (सिजनल मिमिक्री)को एक ऐतिहासिक भू-सांस्कृतिक निरन्तरता जस्तो देखिन्छ। तर यो निष्कर्ष अन्तिम सत्य होइन, एउटा कार्यपरिकल्पना हो भन्ने कुरा सुरुमै इमानदारीपूर्वक स्वीकार्छु। त्रिभुवन विश्वविद्यालयको नेपाल इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागको विद्यार्थीका रूपमा नेपालको जमरा परम्परा र इरानी हाफ्त-सिन अनुष्ठानबीचको तुलनात्मक समीक्षा गर्नु यस लेखको मुख्य ध्येय हो।

१. चाडपर्वहरू प्रकृतिसँगको सम्झौता पनि हो

चाडपर्वहरू धार्मिक आस्थाका अभिव्यक्ति मात्र हुन् भनेर म मान्न सक्दिनँ। यी मानवजातिले प्रकृति, जलवायु र कृषि-प्रणालीसँग स्थापना गरेको ऐतिहासिक सम्झौताका जीवित पुरातात्त्विक अवशेष पनि हुन् भन्ने बुझाइतर्फ म निकट हुँदै गएको छु। ढुङ्गा र हाडका औजार जमिनमुनि बाँचेका हुन्छन्; अनुष्ठान भने मानिसका हातमा, गीतमा, कथामा र वेदीमा बाँचेको हुन्छ। त्यसैले चाड एक किसिमको ‘जीवित अभिलेख’ हो।नेपाली समाजमा शरद ऋतुको सुरुआतसँगै आश्विन शुक्ल प्रतिपदाका दिन ‘घटस्थापना’ गरी घट (कलश) को पूजा-अर्चनासहित अँध्यारो कोठामा माटो वा बालुवाको वेदी बनाई जमरा राखिन्छ। अर्कोतर्फ, उत्तरी गोलार्धमा प्रत्येक वर्ष मार्च १९ देखि २२ को बीचमा पर्ने वसन्त सम्पात (भर्नल इक्विनोक्स) का दिन इरान, अफगानिस्तान, ताजिकिस्तान लगायतका मुलुकहरूमा ३,००० वर्ष पुरानो भनी चर्चा गरिने, धर्मनिरपेक्ष स्वरूप र जोरोआस्ट्रियन जगमा आधारित ‘नौरोज’ मनाइन्छ।

यी दुवै परम्पराको केन्द्रमा जौ (Barley – Hordeum vulgare) वा अन्य खाद्यान्नका बीउलाई कृत्रिम वातावरणमा अंकुरित गराई अनुष्ठानिक रूपमा प्रयोग गर्ने लोक-विधि छ। भूगोल फरक, धर्म फरक, ऋतु फरक (नेपालमा शरद, इरानमा वसन्त) भए पनि अंकुरण गराउने प्रक्रिया, त्यसको प्रतीकात्मक अर्थ र अन्त्यमा गरिने विसर्जन विधिमा रहेको अद्भुत समानताले प्राचीन एसियामा मानव सभ्यता, कृषि प्रविधि र सांस्कृतिक प्रसार (कल्चरल डिफ्युजन) कसरी भएको थियो भन्ने गम्भीर प्राज्ञिक प्रश्न खडा गर्छ।

उल्लेखनीय कुरा के भने- समानता देखिनु र साझा उत्पत्ति हुनु एउटै कुरा होइन।

संसारका धेरै कृषि-समाजले बीउ अंकुराएर आउँदो ऋतुको शुभाशुभ हेर्ने चलन स्वतन्त्र रूपमा विकास गरेका हुन सक्छन्। ग्रीसको अडोनिया पर्वमा एथेन्सका महिलाले माटोका भाँडामा लेट्युस र सौँफका बीउ छर्थे, जो छिट्टै उम्रेर सुक्थे। जेम्स फ्रेजरले द गोल्डेन भाउ (The Golden Bough)  मा यिनै भाँडालाई “एडोनिसका बगैँचा” भनेका छन्, जसमा गहुँ, जौ, लेट्युस, सौँफ र फूलका बीउ आठ दिनसम्म, प्रायः महिलाबाट, हुर्काइन्थे र अन्त्यमा देवताको मूर्तिसँगै पानीमा फ्याँकिन्थे। उता प्राचीन इजिप्टमा, नयाँ राज्यकालको अठारौँ राजवंशदेखि, माटोलाई ओसिरिस देवताको आकारमा ढालेर जौ छरिन्थ्यो, र खोइआक पर्वमा उम्रिएको यो ‘ओसिरिस शय्या‘ मृत्युपछिको पुनर्जन्मको प्रतीक बन्थ्यो; तुतानखामुनको चिहानमा समेत यस्तो शय्या भेटिएको छ।

यस सन्दर्भमा नेपालकै आदिवासी समुदायको चलन (कर्मा पूजाको रुपमा प्रचलित) लाई हेर्नु पनि उपयोगी हुन्छ। भदौ महिनाको सुरुमा उराँव समुदायका सदस्यहरू जमरा (जौका अङ्कुर) राख्न आफ्ना नाइके (मुखिया) को घरमा भेला हुन्छन्। युवतीहरू नजिकैको जङ्गलबाट माटो लिएर आउँछन्, युवाहरू ढोल बजाउँछन्, र त्यो माटोमा जौका बीउमा गहुँ-मकै मिसाइन्छ। पूजा-अर्चना गरेपछि मात्र कर्मा (कदम्ब) रुखका हाँगा काटिन्छन्, र व्रत बस्ने अनुष्ठानका लागि छानिएका तीन युवती र तीन युवालाई साँझ घर लैजान ती हाँगा हस्तान्तरण गरिन्छ। कर्माका हाँगा र जमरा दुवैलाई एउटै निश्चित ठाउँमा राखेर सबैजना मिली पूजा, प्रार्थना, गायन र नृत्य गर्छन्। ज्येष्ठ नागरिकले युवालाई लोककथा सुनाउँछन्। पर्वको अन्तिम दिन हाँगा र जमरालाई उराँवका हरेक घरमा लगिन्छ र अन्त्यमा सबैजना नदीमा गएर विसर्जन गर्छन्। यो पर्व व्रत, प्रकृति-पूजा, भोज र प्रार्थनासहित मनाइने उराँव समुदायको सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण अनुष्ठान हो। तर यस पर्वको खुसी प्रायः सरकारले यसका लागि औपचारिक बिदा नदिने तथ्यले धमिलिने गर्छ।

फ्रेजरले पनि द गोल्डेन बाउ मा यसै किसिमको चलन र हिन्दू चलन दुवैको उल्लेख गरेका छन्। उनका अनुसार मद्रास क्षेत्रका ब्राह्मण विवाहमा पाँच वा नौ किसिमका बीउ माटोका भाँडामा छरेर दुलाहा-दुलही चार दिनसम्म बिहान-बेलुका पानी हाल्थे र पाँचौँ दिन अंकुरलाई ताल वा नदीमा बगाउँथे। साथै उनले गाउँका मुखियाकी छोरीहरूले जौका अंकुर विशेष तरिकाले उमारेर कर्मा-रुखमा चढाउने चलन वर्णन गरेका छन्। यी चलनका विसर्जन-विधि नेपाली जमरा र इरानी सबजेहसँग मिल्दोजुल्दो छन्। यसले के देखाउँछ भने, अंकुरित बीउको अनुष्ठान ब्राह्मणवादी कर्मकाण्डमा मात्र सीमित छैन; आदिवासी समुदायमा पनि यो स्वतन्त्र रूपमा र अझ पुरानो जगमा बाँचेको हुन सक्छ। यसले जमरालाई कुनै एउटा धर्मको मात्र सम्पत्ति मान्ने दृष्टिकोणलाई पनि चुनौती दिन्छ। तर फ्रेजरको व्याख्या (वनस्पति-देवता र अनुकरणात्मक जादूको सिद्धान्त) आज आलोचित छ, त्यसैले यहाँ उनका वर्णनलाई मात्र आधार बनाइएको छ।

अत: ग्रीस, इजिप्ट, इरान र दक्षिण एसियामा अंकुरित बीउको अनुष्ठान एउटै केन्द्रबाट फैलिएको हो कि विभिन्न ठाउँमा उस्तै आवश्यकताबाट जन्मिएको हो भन्ने प्रश्न त्यसैले खुला राखेर अघि बढ्नु उपयुक्त हुन्छ।

२. नवपाषाणकालीन कृषि क्रान्ति र जौको घरेलुकरण

मानव सभ्यता सिकारी-सङ्कलक युगबाट भोजन-उत्पादक युगमा रूपान्तरण हुनु मानव इतिहासकै सबैभन्दा ठूलो सामाजिक-आर्थिक क्रान्ति थियो। पुरातत्त्वविद् भि. गोर्डन चाइल्डले यसलाई ‘नियोलिथिक रेभोलुसन’ भनेका हुन् (Man Makes Himself, १९३६)। चाइल्ड स्वयम् मार्क्सवादी चिन्तनबाट प्रभावित थिए र उनले प्रविधिमा आएको परिवर्तनलाई समाज-संरचना बदल्ने भौतिक आधारका रूपमा हेरेका थिए; यो कुरा यस लेखको अन्तिम खण्डमा फेरि सान्दर्भिक हुनेछ।

क. फर्टाइल क्रेसन्ट र दक्षिण एसियालीसँग जोड्ने कडी

करिब १०,००० देखि १२,००० वर्षअघि मध्यपूर्वको ‘फर्टाइल क्रेसन्ट’ (इरानको जाग्रोस पर्वतशृङ्खलाको फेद, इराक, सिरिया र दक्षिणपूर्वी टर्की) मा जङ्गली वनस्पतिलाई पाल्तु बनाउने प्रक्रिया सुरु भयो। यस क्षेत्रमा सबैभन्दा पहिले घरेलुकरण गरिएका अन्नमा जौ र गहुँ पर्छन्। झन् पुरानो सङ्केत पनि छ: इजरायलको ओहालो II भन्ने पुरातात्त्विक स्थलमा करिब २३,००० वर्षअघिका जङ्गली जौ-गहुँ पिस्ने र प्रशोधन गर्ने प्रमाण फेला परेको छ। यहाँ पुरातत्वविद्हरूले  करिब १५०,००० नमुना जाँचे, जहाँ जंगली एमर, जौ र ओट सँगै १३ किसिमका आजका झारपात समेत फेला परे, र यो खेतीभन्दा कम्तीमा ११ हजार वर्षअघिको प्रमाण हो। अर्थात् मानिसले अन्नसँगको सम्बन्ध खेतीभन्दा धेरै पहिले सुरु गरिसकेको थियो।

पुरातात्त्विक र वनस्पतिशास्त्रीय अध्ययनले जौको खेती फर्टाइल क्रेसन्टबाट पूर्वतर्फ फैलिँदै मेहरगढ (हालको पाकिस्तान, प्रारम्भिक मिति परम्परागत रूपमा ७००० ई.पू. मानिए पनि पछिल्ला रेडियोकार्बन अध्ययनले यसलाई ५२०० ई.पू. वरिपरि राख्छन्)) हुँदै सिन्धु उपत्यकासम्म आइपुगेको देखाउँछन्। मेहरगढमा जौ र गहुँका साथै पछि स्थानीय पशुपालन र बाली-प्रणालीको विकास भएको मानिन्छ। यहाँ पनि एउटा सावधानी चाहिन्छ: दक्षिण एसियामा खेतीको उत्पत्ति पूर्ण रूपमा आयातित हो कि स्थानीय र बाह्य तत्त्वको मिश्रण हो भन्नेमा विद्वान्हरूबीच बहस छ (डोरियन फुलरको दक्षिण एसियाली कृषि-संश्लेषण यसको राम्रो उदाहरण हो)। जौको सन्दर्भमा तिब्बत/हिमाली क्षेत्रको ‘नाङ्गो जौ’ (hulless barley) को स्वतन्त्र घरेलुकरण भएको थियो कि थिएन भन्ने वैज्ञानिक विवाद अझै जीवित छ। हिमालयन काछ (नेपाली भूभाग) सम्म जौ कसरी, कुन बाटो र कहिले आइपुग्यो भन्ने निश्चित निष्कर्ष त्यसैले अहिले दिन सकिँदैन। ख. ‘अन्नराज’ जौको जैविक र अनुष्ठानिक विशिष्टता

वैदिक साहित्यमा जौलाई ‘यव’ भनिएको छ र यसले महत्त्वपूर्ण स्थान पाएको छ। हिन्दू कर्मकाण्डमा तिलक, हवन र तर्पणमा जौ (यव) को प्रयोग यसैको निरन्तरता हो। पौराणिक मान्यतामा जौलाई सृष्टिको आदि अन्न मानिने र ‘अन्नराज’ भनिने परम्परा छ।

जैविक दृष्टिकोणबाट जौ कम तापक्रम, सुख्खा वातावरण र कम उर्वर माटोमा पनि छिटो अंकुरित हुन सक्ने उच्च अनुकूलन क्षमता भएको बाली हो। सामान्यतया ४८ देखि ७२ घण्टामै टुसा देखा पर्ने भएकाले ऋतु परिवर्तनको सूचक र बीउको अंकुरण क्षमता जाँच्नका लागि प्राचीन मानिसले जौलाई रोजेको हुन सक्छ। यो एउटा तर्कसङ्गत अनुमान हो; यसको प्रत्यक्ष लिखित प्रमाण भने हामीसँग छैन।

३. रेशम मार्ग: संस्कृति सर्ने र परिमार्जित हुने बाटो

अंकुरित बीउको अनुष्ठान आफैँ हिँडेको होइन; त्यसलाई बोक्ने मानिस, व्यापारी, तीर्थयात्री र कारिगर हिँडेका थिए। यस सन्दर्भमा रेशम मार्गको चर्चा अपरिहार्य हुन्छ। ‘रेशम मार्ग’ शब्द १९औँ शताब्दीमा जर्मन भूगोलविद् फर्डिनान्ड फोन रिख्टहोफेनले प्रचलनमा ल्याएका हुन्, र यो एउटै सडक नभई चीनदेखि मध्य एसिया, इरान, भारतीय उपमहाद्वीप हुँदै भूमध्यसागरसम्म फैलिएको व्यापारिक तथा सांस्कृतिक सञ्जाल थियो। यही बाटोबाट रेशम र मसलासँगै धर्म (बौद्ध, मानी र जोरोआस्ट्रियन परम्परा), प्रविधि, बाली र लोकचलन पनि सरे। नौरोज पनि यही सञ्जालमा पर्ने धेरै भूभागमा आज मनाइन्छ, जसलाई यूनेस्कोले पनि रेशम मार्गसँग जोडेर चर्चा गरेको छ।

यस सञ्जालको चलनमा एउटा रोचक सङ्केत छ। इरान, अफगानिस्तान र मध्य एसियाका धेरै भूभागमा नौरोज/नवरुजको समयमा गहुँका टुसाबाट बनाइने गुलियो परिकार बन्छ। इरानमा यसलाई ‘सामानु’ भनिन्छ भने मध्य एसियाका केही भागमा ‘सुमालक’ जस्ता नामले चिनिन्छ। एउटै अंकुरित अन्नको परिकारले फरक भाषा र नामसहित एउटै भौगोलिक पेटीमा बाँच्नु सांस्कृतिक सर्ने प्रक्रिया (कल्चरल डिफ्युजन) को राम्रो उदाहरण हुन सक्छ।नेपाल यो मुख्य पूर्व-पश्चिम मार्गमा थिएन, तर यसको एउटा हिमालपारिको शाखासँग जोडिएको थियो। काठमाडौँ उपत्यकाबाट केरुङ (कीरोङ) र कुती भञ्ज्याङ हुँदै ल्हासासम्म पुग्ने बाटो हजार वर्षभन्दा लामो समयदेखि व्यापारका लागि प्रयोग भएको थियो। इतिहासकारहरूका अनुसार सातौँ शताब्दीतिर चीन र भारतलाई ल्हासा-काठमाडौँ हुँदै जोड्ने नयाँ हिमाली मार्ग खुलेपछि चिनियाँ तीर्थयात्री ताक्लामाकानको कठिन मरुभूमि छलेर बौद्ध तीर्थ पुग्न सक्ने भए, र त्यसले लिच्छविकालीन नेपालको व्यापार र सांस्कृतिक अन्तरक्रिया बढाएको मानिन्छ। पछि मल्लकालमा पनि नेवार व्यापारीले यही मार्गमार्फत ल्हासासम्म व्यापार चलाए, र उनीहरू मध्य एसियाका सहरबाट आउने व्यापारीसँग जोडिए। यसरी नेपालको जमरा परम्परा मध्य एसिया वा इरानबाट सीधै नआएको भए पनि, यस्ता बहुस्तरीय सञ्जालले अनुष्ठान, बीउ, कथा र प्रतीक एकअर्कामा पुर्‍याउने सम्भावना भने खुला राख्छ।

तर यहाँ तीनवटा सावधानी जरुरी छन्। पहिलो, रेशम मार्ग औपचारिक रूपमा करिब दुई हजार वर्षअघि मात्र सक्रिय भयो, जबकि जौ र अंकुरित बीउको चलन त्यसभन्दा हजारौँ वर्ष पुरानो हुन सक्छ। त्यसैले रेशम मार्गले उत्पत्ति होइन, फैलावट र परिमार्जन (रूपान्तरण) को व्याख्या गर्न सक्छ। दोस्रो, फ्रेजरले उल्लेख गरेको मद्रासको ब्राह्मण विवाहको अंकुर-चलन रेशम मार्गभन्दा टाढा दक्षिण भारतमा छ, जसले स्वतन्त्र विकासको सम्भावनालाई जीवित राख्छ। तेस्रो, जमरा रेशम मार्गबाट नै नेपाल आएको भन्ने प्रत्यक्ष लिखित वा पुरातात्त्विक प्रमाण अहिलेसम्म मैले भेट्टाएको छैन; यो एउटा परिकल्पना हो।

४. पुरातात्त्विक तथा ऐतिहासिक प्रमाण: नेपालमा जौको प्राचीनता

नेपालमा जमराको परम्परा इरानबाटै आएको हो वा स्वतन्त्र रूपमा विकास भएको हो भन्ने बहस बाँकी नै छ। यद्यपि वनस्पतिशास्त्र र पुरातत्त्वले यस बहसमा केही महत्त्वपूर्ण सङ्केत प्रदान गर्छन्। यस खण्डका अधिकांश तथ्य बीबीसी न्यूज नेपालीको सामग्रीमा उद्धृत विज्ञहरूको भनाइमा आधारित छन्, जसलाई मैले मूल अनुसन्धान-प्रकाशनसँग भिडाएर पुष्टि गर्न बाँकी छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।

बीबीसीमा प्रकाशित सामग्रीअनुसार वरिष्ठ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका भनाइमा जापानी अनुसन्धानकर्ताहरूले मुगुको रारा तालको पिँधबाट निकालिएको माटोको नमुनामा प्राचीन जौका परागकण फेला पारेका थिए। यदि यो तथ्यलाई मान्ने हो भने यसले नेपालको हिमाली तथा पहाडी भूभागमा हजारौँ वर्षअघिदेखि जौको उपस्थिति वा खेतीको सङ्केत गर्छ। परागकण प्रमाणको एउटा सीमा के हो भने यसले जौको उपस्थिति देखाउन सक्छ, खेतीको प्रमाण भने अन्य सङ्केतसँग जोडेर मात्र दिन सकिन्छ।

सोही सामग्रीमा अक्सफोर्ड युनिभर्सिटीका पूर्वीय धर्म र नैतिकताका प्राध्यापक दिवाकर आचार्यले प्राचीन ‘वैदिक भारतवर्ष’ को भौगोलिक दायरा इरान, मध्य एसिया र युरेसियाका केही भूभागसम्म जोडिएको उल्लेख गरेका छन्। शतपथ ब्राह्मण लगायतका प्राचीन ग्रन्थमा ‘अग्नि’ र पुरोहित पश्चिमबाट पूर्वतर्फ सर्दै विदेह (मिथिला) राज्यसम्म आइपुगेको विवरण पाइन्छ भन्ने सन्दर्भ पनि त्यहीँ छ।

भाषाशास्त्री स्व. बालकृष्ण पोखरेलले आफ्नो कृति ‘खस जातिको इतिहास’ मा नेपालका खस समुदायका पूर्वजहरू इरान, इराक र सिरिया क्षेत्र हुँदै ककेसस पर्वतमाला पार गरेर दक्षिण एसिया भित्रिएको प्रसङ्ग उल्लेख गरेका छन् भनिन्छ। यस्तै लिच्छविहरूको पुर्ख्यौली थलो खोज्दा पनि विद्वान्हरू मध्य एसियाली भूभागतर्फ पुग्छन्। यी आप्रवासनका क्रममा देवी उपासना, नवरात्र विधि र जमरा उमार्ने कृषि-सांस्कृतिक लोक-विधि नेपालसम्म आइपुगेको अनुमान गर्न सकिन्छ। यहाँ ‘अनुमान’ शब्दमा जोड दिन चाहन्छु; खस र लिच्छविहरूको उत्पत्तिबारे इतिहासकारहरूमा मतैक्य छैन।

इतिहासकार डा. जगदीशचन्द्र रेग्मीका अनुसार महाकवि कालिदासको ‘रघुवंश’ महाकाव्यमा भगवान् राम लङ्का जितेर अयोध्या फर्कने क्रममा पुष्पक विमानमा राम र सीतालाई ‘यव-अङ्कुर’ (जौका अङ्कुर) द्वारा स्वागत गरिएको वर्णन आउँछ भन्ने सन्दर्भ बीबीसी सामग्रीमा छ। यदि यसलाई मूल पाठसँग पुष्टि गरिए, यसले प्राचीनकालदेखि नै विजयोत्सव र उर्वराशक्तिको प्रतीकका रूपमा जौको अङ्कुरको प्रयोग हुने गरेको देखाउँछ।

स्थानीय उत्पत्तिको तर्क: मगर समुदाय, टीका र जमरा

अहिलेसम्मका चर्चा जमरालाई इरान वा वैदिक भूगोलसँग जोड्ने सम्भावनामा केन्द्रित थिए। तर नेपालभित्रैबाट उठेको एउटा फरक तर्क पनि छ, जसले जमरा र टीकालाई बाह्य प्रभावको नभई स्थानीय कृषि-जीवनको उपज मान्छ।

यस तर्कअनुसार मानव समाज भर्खरै कृषि युगमा प्रवेश गरेको बेला खाद्यान्नको महत्त्व सर्वोच्च थियो। पहाड र लेकको जलवायुमा हुने जौजस्ता अन्न भित्र्याइसकेपछि घरमा ‘सह आएको’ (सम्पन्नता भित्रिएको) मानिन्थ्यो। वर्षा ऋतुको काम सकिएको र मौसम अनुकूल भएको यस समयमा अन्न भित्र्याउनुको खुसियालीमा जमरा सिउरिने र सेतो टीका लगाउने चलन विकसित भएको भन्ने तर्क तर्कसंगत देखिन्छ। मकै त्यसपछि, १६औँ शताब्दीमा मात्र भित्रिएकाले यस तर्कको सुरुवाती चरणमा जौ नै केन्द्रमा हुनुपर्छ। यो तर्क मगर समुदायसँग जोडिन्छ र संस्कृतिविद् डा. जगमान गुरुङका लेख तथा अन्तर्वार्ताले यसलाई समर्थन गर्छन्। पछि हिन्दू धर्मको प्रभाव बढ्दै जाँदा नवदुर्गा पूजा र प्राचीन टीका लगाउने संस्कृतिको मिश्रणबाट आजको दसैँ विकसित भएको मान्न सकिने आधार देखिन्छ।यस मिश्रणको तहलाई उपन्यासकार मदनमणि दीक्षितको कृति ‘ऋग्वैदिक नारी चरित्र’ ले अर्को कोणबाट देखाउँछ। उनका अनुसार, भारतमा विजयादशमीको रूप नेपालको भन्दा झनै फरक छ, तर नवरात्र र दसैँ मनाउने नेपाल र भारतका पृथक् समुदायहरूमा दुर्गापूजा र महाअष्टमीमा देवीलाई पशुबलि दिने क्रिया समान रूपमा पाइन्छ (पृ. ४३–४४)। यी चलनको रूप र स्रोतको अध्ययन उनले छुट्टै विषय मानेका छन् र नवरात्रको दुर्गापूजा र विजयादशमीबारे धर्मशास्त्रीय, वैज्ञानिक र समाजशास्त्रीय अध्ययन हुनुपर्ने निचोड निकालेका छन्। उनले जमरा राख्ने विधि, टीकाको महत्त्व, दियो, गणेश र कलशको इतिहास, तथा तिथितत्त्वका आधारमा कहाँ कति दिन नवरात्र मनाइन्छ भन्ने प्रसङ्ग पनि उठाएका छन्।

दीक्षितले कालिका पुराणको हवाला दिँदै भारतका केही ठाउँमा दशमीका दिन दुर्गा सेलाउँदा ‘शवरोत्सव’ मनाइने उल्लेख गरेका छन्, जुन चलन नेपालमा छैन। शवरहरू भारतका प्राचीन आदिवासी हुन्। शवरोत्सवमा खरपातका पोशाक लगाइन्छ, जीउमा हिलो पोतिन्छ र वनवासीजस्तै नाचगान गरिन्छ। उनका अनुसार यो उत्सव नेपालमा सम्भ्रान्त पारिवारिक मिलन र आनन्दोत्सवमा रूपान्तरित भएको छ, र समाज कतै स्थिर नरहेर निरन्तर परिवर्तन हुँदै आएको छ (पृ. ४९)। यसले आदिवासी जीवनबाट आएका तत्त्व मूलधारका उत्सवमा समाहित भएर रूप बदल्ने प्रक्रियालाई देखाउँछ, जसरी उराँवको कर्मा र ब्राह्मणवादी दसैँ दुवैमा अंकुरित बीउको चलन देखिन्छ।

यसरी हेर्दा, जमराको उत्पत्तिबारे अहिलेसम्म तीनवटा परिकल्पना देखिन्छन्: इरान वा वैदिक भूगोलबाट सरेको, नेपाली पहाडमै आदिवासी कृषि-जीवनबाट जन्मेको, र रेशम मार्गजस्ता सञ्जालबाट परिमार्जित भएको। यीमध्ये कुनै पनि परिकल्पनालाई निर्णायक प्रमाणले स्थापित वा खण्डित गरेको छैन। यी तर्क एकअर्काका प्रतिद्वन्द्वी मात्र नभई परिपूरक पनि हुन सक्छन्: नवपाषाणकालीन साझा जग, स्थानीय आदिवासी चलन र पछिल्लो धार्मिक संश्लेषण एकै साथ सत्य हुन सक्छन्।

५. नौरोजको विश्लेषणात्मक संरचना

टाइम म्यागजिनमा प्रकाशित लेख (“What to Know About Nowruz, a 3,000-Year-Old Festival Celebrated by Millions Worldwide“) ले नौरोजलाई केवल धार्मिक चाड नभई विश्वभर करोडौँले मान्ने साझा सांस्कृतिक पर्वका रूपमा चित्रण गर्छ। युनेस्कोले नौरोजलाई सन् २००९ मा मानवताको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा समावेश गर्‍यो र सन् २०१६ मा अन्य देशसहित त्यसको बहुराष्ट्रिय सूचीकरण विस्तार गरियो। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१० मा मार्च २१ लाई ‘अन्तर्राष्ट्रिय नौरोज दिवस’ घोषणा गर्‍यो।

नौरोजको उत्पत्तिलाई परम्परागत रूपमा प्राचीन इरानको अखामेनी साम्राज्य (Achaemenid Empire, ५५०–३३० ई.पू.) र राजधानी पर्सेपोलिससँग जोडिन्छ। पर्सेपोलिसका अपादाना भित्तिचित्र (रिलिफ) मा विभिन्न प्रान्तका प्रतिनिधिले उपहार ल्याइरहेका दृश्यलाई नौरोज उत्सवसँग जोड्ने परम्परागत व्याख्या छ, तर इतिहासकारहरूबीच यो जोडाइबारे सहमति छैन। नौरोज साँच्चै जोरोआस्ट्रियन उत्पत्तिको हो भन्ने मत (मेरी बोयसजस्ता विद्वान्हरूले अघि सारेको) र यसको प्रारम्भिक इतिहास अस्पष्ट छ भन्ने मत दुवै अस्तित्वमा छन्। वसन्त सम्पातको सुरुआतमा (मार्च १९–२२ को बीचमा) यो उत्सव सुरु हुन्छ।

अमेरिकन युनिभर्सिटीकी प्राध्यापक सादी मोखार्तीले टाइमलाई दिएको टिप्पणीअनुसार नौरोजको मूल दर्शन ‘प्रकृतिको नवीकरण र मानिस-मानिसबीचको सम्बन्धको नवीकरण’ हो।

इरानी सांस्कृतिक परम्परामा नौरोजको समयमा घरको मुख्य भागमा सजाइने ‘हाफ्त-सिन’ (Haft-sin, ‘सात स’) टेबलको विशेष प्रतीकात्मक र अनुष्ठानिक महत्त्व छ। यसमा फारसी वर्णमालाको ‘सिन’ (س) अक्षरबाट सुरु हुने सात वस्तु राखिन्छन्। सबैभन्दा प्रचलित सूचीमा सबजेह (उमारिएको जौ/गहुँ/मुगी दाल – पुनर्जन्म र नवीकरण), सामानु (गहुँको टुसाबाट बनेको गुलियो पुडिङ – उर्वरता र शक्ति), सेन्जेद (सुकेको रुसी जैतुन – प्रेम), सीर (लसुन – स्वास्थ्य र रोगनिवारण), सीब (स्याउ – सौन्दर्य र स्वास्थ्य), सोमाक (सुमाकको मसला – सूर्योदय र विजय) र सिरकेह (सिरका – धैर्य र उमेरको परिपक्वता) पर्छन्। धेरै घरमा यिनका साथै हयासिन्थ फूल ‘सोनबोल’ (वसन्तको आगमन) र सिक्का ‘सेक्केह’ (धन-समृद्धि) पनि राखिन्छन्, जसलाई कतिपय सूचीमा वैकल्पिक ‘सिन’ का रूपमा गनिन्छ। अर्थात् सात वस्तुको नामावली सबै ठाउँमा एकैनास छैन।सिङ्गो हाफ्त-सिन टेबलको केन्द्रीय तत्त्व मानिने ‘सबजेह’ थाली वा सानो भाँडोमा जौ, गहुँ वा दाल भिजाएर उमारिएको चहकिलो हरियो जमरा नै हो, जसले सम्पूर्ण उत्सवको मूल दर्शन अर्थात् प्रकृतिको पुनर्जन्मलाई प्रतिनिधित्व गर्छ। यहाँ रोचक ऐतिहासिक सङ्केत पनि छ: मध्ययुगीन विद्वान् अल-बिरुनीले (११औँ शताब्दी) नौरोजको सेरोफेरोमा सात किसिमका अन्न छरेर तिनको बढाइबाट आगामी वर्षको फसलको अनुमान लगाइने चलनको उल्लेख गरेको मानिन्छ। यसले सबजेह र जमरा दुवैमा साझा रहेको ‘अङ्कुरबाट भविष्य पढ्ने’ कृषि-शकुनको पक्षलाई बलियो बनाउँछ। फरक यति हो कि हाफ्त-सिन टेबलको वर्तमान सात-सिन ढाँचा पछिल्लो युगमा औपचारिक भएको देखिन्छ, जबकि अङ्कुरित अन्नको अनुष्ठान त्यसभन्दा धेरै पुरानो हुन सक्छ।

६. तुलनात्मक विश्लेषण: घटस्थापनाको जमरा र नौरोजको सबजेह

अब नेपालको दसैँमा प्रयोग गरिने जमरा र इरानको नौरोजमा सजाइने सबजेहबीच विधिगत, सांस्कृतिक र अनुष्ठानिक तहमा तुलनात्मक अध्ययन गरौं।

(क) बीउ तयारी र अंकुरण विधि

इरान (सबजेह): इरानी परम्परामा जौ, गहुँ वा दाललाई करिब २४ घण्टा पानीमा भिजाइन्छ, सफा सेतो कपडामा पोको पारेर राखिन्छ र टुसाएपछि थाल वा सानो भाँडोमा फिँजाइन्छ। नौरोज नजिकिँदा (प्रायः १३ दिनअघिदेखि) यसलाई घरभित्रको उज्यालो ठाउँमा राखिने भएकाले प्रकाश संश्लेषण भई सबजेह चहकिलो हरियो हुन्छ।

नेपाल (जमरा): घटस्थापनाका दिन सफा बालुवा वा माटो मिश्रित वेदी तयार पारिन्छ। भिजाइएका जौका दानाहरू घट (कलश) को वरिपरि छरिन्छन्। यसलाई सूर्यको प्रत्यक्ष प्रकाश नपर्ने अँध्यारो कोठा वा चोयाको ढाकाले ढाकेर राखिन्छ। प्रकाशको अभावमा क्लोरोफिलको पूर्ण विकास नहुने (वनस्पतिशास्त्रमा यसलाई इटियोलेसन भनिन्छ) हुनाले नेपाली जमरा हलेदोजस्तो पहेँलो हुन्छ। अर्थात् दुवैको रङ फरक हुनुको कारण सांस्कृतिक होइन, प्रकाशको उपलब्धताको हो; तर पहेँलो रङले नै जमराको ‘सुनौलो’ प्रतीकात्मक अर्थ पाएको छ।

(ख) सांस्कृतिक मान्यता र प्रयोग

नेपालमा जमरालाई ‘दुर्गा भवानीको प्रसाद’ मानिन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट रातो वा सेतो टीकासँगै जमरा कानमा सिउरिने वा शिरमा लगाउने गरिन्छ। यो शक्ति, विजय र समृद्धिको प्रतीक हो। इरानमा सबजेहलाई शिरमा लगाइँदैन; यसलाई हाफ्त-सिन टेबलमा राखिन्छ, जसले नयाँ वर्षमा घरभित्र प्रकृति र समृद्धिको प्रवेशलाई जनाउँछ। यहाँ एउटा सूक्ष्म भिन्नता छ: जमरा ‘आशीर्वादको वाहक’ बन्छ (हातबाट हातमा हस्तान्तरण हुन्छ), जबकि सबजेह ‘सजावट र प्रतीक’ का रूपमा घरभित्रै सीमित रहन्छ।(ग) विसर्जन विधि

दुवै संस्कृतिमा अनुष्ठान सकिएपछि जमरा/सबजेह विसर्जन गर्ने तरिकामा अचम्मको सादृश्यता पाइन्छ। नेपालमा विजयादशमी वा कोजाग्रत पूर्णिमाका दिन पूजा गरिएको जमरालाई पवित्र नदी, खोला वा जलाशयमा लगेर भक्तिपूर्वक सेलाउने परम्परा छ। उता इरानमा नौरोजको १३औँ दिन ‘सिज्दा बेदार’ (Sizdah Bedar) नामक प्रकृति-उत्सव मनाइन्छ। १३ अङ्कलाई अशुभ मानिने भएकाले मानिसहरू परिवारसहित बाहिर पिकनिक जान्छन् र सबजेहलाई बगिरहेको नदी वा जलस्रोतमा बगाउँछन्। लोकविश्वासअनुसार सबजेहले वर्षभरिको नकारात्मक ऊर्जा सोसेर लिन्छ र पानीमा बगाउँदा ती कष्टहरू पखालिएर जान्छन्। यहाँ महत्त्वपूर्ण कुरा: इरानमा सबजेहलाई फोहोर वा अन्यत्र फ्याँकिँदैन, बगिरहेको पानीमै सुम्पिन्छ; नेपालमा पनि जमरा जलमै सेलाइन्छ। यो ‘बीउबाट जन्मेको जीवन पानीमा फर्कने’ चक्रीय दर्शनको साझा अभिव्यक्ति हो।

(घ) नेपालतर्फ जमरामा मकैको प्रवेश

जमरा परम्पराको अध्ययन गर्दा यसको स्थानीय अनुकूलनलाई बेवास्ता गर्न सकिँदैन। शास्त्रीय विधिअनुसार जमरा उमार्न जौ नै अनिवार्य अन्न हो, तर नेपालको भौगोलिक विविधता र कृषि-पारिस्थितिकी (एग्रो-इकोलोजी) अनुसार यसमा विविधता पाइन्छ। मध्यपहाडी क्षेत्रमा जौको अभाव वा उपलब्धताका आधारमा मकैको जमरा पनि व्यापक रूपमा उमारिन्छ। १६औँ शताब्दीमा अमेरिका महाद्वीपबाट (कोलम्बियन एक्सचेन्ज) भारत हुँदै नेपाल भित्रिएको मकैलाई नेपाली लोक-संस्कृतिले यति सहजै स्वीकार गर्‍यो कि आज गाउँघरमा जौसँगै मकै मिसाएर जमरा राख्ने चलन आम भइसकेको छ। मकैको जमरा बाक्लो, हलक्क बढ्ने र पहेँलो देखिने भएकाले सांस्कृतिक रूपमा रुचाइएको हुन सक्छ। तराई-मधेशमा धान र गहुँका बीउ पनि जमराका लागि प्रयोग गरिन्छन्।

यसले के स्पष्ट पार्छ भने जमरा परम्परा कठोर धार्मिक कर्मकाण्ड मात्र होइन; यो स्थानीय कृषि उत्पादन र उपलब्धतासँग निरन्तर अनुकूलित हुने एक गतिशील लोक-संस्कृति पनि हो। मकैको प्रवेशले अर्को महत्त्वपूर्ण कुरा पनि देखाउँछ: अनुष्ठानको ‘रूप’ (बीउ) परिवर्तन हुँदा पनि ‘संरचना’ (अँध्यारोमा अंकुरण, घटको सामीप्य, विसर्जन) अपरिवर्तित रहन्छ। संस्कृतिविज्ञानमा यही नै परम्पराको जीवितताको लक्षण हो।

७. निरन्तरता, रूपान्तरण र क्षेत्रीय विविधता: भारतको अवस्था के हो?

यस विषयमा चर्चा गर्दा एउटा महत्त्वपूर्ण अनुसन्धान प्रश्न उठ्छ: प्राचीन वैदिक भूगोलभित्र पर्ने भारतका धेरै भूभागमा दसैँ (नवरात्रि, दशहरा) मनाइए पनि कान वा शिरमा जमरा लगाउने चलन नेपालमा जस्तो सर्वव्यापी किन देखिँदैन?

यहाँ पहिले एउटा तथ्य सच्याउनुपर्छ: जमरा भारतमा लोप भएको होइन। मध्यप्रदेश, छत्तीसगढ र उत्तरप्रदेशका नवरात्रमा ‘जवारे/जवा’ उमार्ने र देवीलाई चढाउने चलन अहिले पनि व्यापक छ, बंगालको दुर्गापूजा-विजयादशमीमा ‘जयन्ती’ (जौको अंकुर) आशीर्वादका रूपमा दिइन्छ, र उत्तराखण्डको ‘हरेला’ पर्वमा अंकुरित अन्न शिर वा कानमा राख्ने चलन अझै जीवित छ। त्यसैले प्रश्नको सही रूप यो हो: अंकुरित अन्नको अनुष्ठान दक्षिण एसियाभर किन फरक-फरक रूपमा बाँचेको छ, र शिर-कानमा लगाउने रूप नेपालका पहाडमा किन विशेष रूपले बलियो छ?यसका सम्भावित व्याख्याहरू छन्, जसलाई निर्णायक निष्कर्षका रूपमा होइन, परिकल्पनाका रूपमा लिनुपर्छ। पहिलो, बीबीसी नेपालीको सामग्रीमा उद्धृत संस्कृतिविद्हरूले मैदानी क्षेत्रमा लामो राजनीतिक उथलपुथल र औपनिवेशिक सांस्कृतिक दबाबले केही सूक्ष्म अनुष्ठानिक प्रथा कमजोर बनाएको सम्भावना औँल्याएका छन्। दोस्रो, पहाडी तथा हिमाली भूगोल तुलनात्मक रूपमा दुर्गम भएकाले कृषि-अनुष्ठानहरू समुदायभित्र निरन्तर हस्तान्तरण भइरहे। तेस्रो, नेपालमा राज्यले (विशेषतः शाह-राणा कालमा) दसैँलाई राष्ट्रिय पर्वका रूपमा संस्थागत गर्‍यो, जसले टीका-जमराको चलनलाई औपचारिक संरचना दियो। यो तेस्रो बुँदा थप ऐतिहासिक अनुसन्धान माग्ने विषय हो।

८. निष्कर्ष

नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व शास्त्रको विद्यार्थीका रूपमा, नेपालको घटस्थापनाको जमरा र इरानको नौरोजको सबजेहबीचको सम्बन्ध मानव सभ्यताको साझा कृषि-ऐतिहासिक धरोहर हो भन्ने निष्कर्षमा म आइपुगेको छु। १०,००० वर्षअघिको नवपाषाणकालीन कृषि क्रान्ति, जौको घरेलुकरण, र प्रागैतिहासिक मानवले प्रकृतिसँग गाँसेको सम्बन्ध नै यी दुवै परम्पराको साझा जग हो। प्रत्यक्ष सांस्कृतिक सापटीको निर्णायक प्रमाण अहिलेसम्म नभए पनि, साझा बाली, साझा आवश्यकता र साझा प्राकृतिक चक्रले यस्तो समानता जन्माउनु स्वाभाविक देखिन्छ।

चाहे इरानमा वसन्तको आगमनमा नयाँ वर्षको रूपमा हाफ्त-सिन टेबलमा सजाइने हरियो ‘सबजेह’ होस्, वा नेपालमा शरद ऋतुको आगमनमा दुर्गा भवानीको शक्ति-प्रसादका रूपमा अँध्यारो कोठामा उमारिने पहेँलो ‘जमरा’ होस् दुवैले एउटै सर्वव्यापी सत्य उजागर गर्छन्: “सुकेको बीउभित्र जीवनको सम्भावना लुकेको हुन्छ, र अंकुरण नै पुनर्जन्म, आशा र समृद्धिको अन्तिम प्रमाण हो।”यही ठाउँमा एउटा दृष्टिकोण पनि जोड्न चाहन्छु।

मार्क्स र एङ्गेल्सका अनुसार संस्कृति, धर्म र चाडपर्व समाजको ‘अधिरचना’ हुन्, जसको जग उत्पादन-पद्धतिमा हुन्छ। जमरा र सबजेह त्यसैको स्पष्ट उदाहरण हुन्। यी चाड आकाशबाट खसेका होइनन्; यी बीउ जोगाउने, अंकुरण क्षमता जाँच्ने र ऋतु पर्खने किसानको श्रमजन्य ज्ञानले अनुष्ठानको रूप लिएको अभिलेख हुन्। भि. गोर्डन चाइल्डले कृषि क्रान्तिलाई मानव आफैँले आफूलाई बनाउने प्रक्रिया भनेका थिए; ती खेतीपातीका श्रम र अतिरिक्त उत्पादनले नै पुरोहित, राज्य र पर्वको संरचना जन्माएको हो। एङ्गेल्सले परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति (१८८४) मा देखाएझैँ कृषि-अतिरिक्तसँगै सामाजिक वर्ग र पदानुक्रम पनि जन्मिए। त्यसैले जमराको टीका-आशीर्वाद सँगसँगै श्रेणीक्रम (को कसलाई टीका लगाउँछ) पनि पुनरुत्पादन गर्ने सामाजिक संरचना हो भन्ने कुरा बिर्सन हुँदैन।

आजको बजार-अर्थतन्त्रमा यो चाडको भौतिक आधार नै बदलिँदैछ। जमराका लागि आज बजारबाट बीउ किनिन्छ; स्थानीय बीउ जोगाउने किसानको श्रम र ज्ञान ओझेलमा पर्दैछ। मार्क्सले ‘मानव र प्रकृतिबीचको चयापचय’ भनेको सम्बन्ध जमराले सबैभन्दा सरल रूपमा सम्झाउँछ। त्यही सम्बन्ध जलवायु-संकट र उत्पादकको अलगावले टुट्दै जाँदा, जमराको पहेँलो अंकुर हामीलाई चाडभन्दा पर, श्रम, बीउ र प्रकृतिको न्यायपूर्ण सम्बन्धतर्फ सोच्न बोलाउँछ। यो साझा सांस्कृतिक निरन्तरताले भूगोल, राजनीति र धर्मका सीमाभन्दा माथि उठेर प्राचीन एसियाली सभ्यताको साझा जरा र “वसुधैव कुटुम्बकम्” को शाश्वत मर्मलाई आजको आधुनिक युगमा पनि जीवन्त राखिरहेको छ। साभार दियो पोष्ट