१ कार्तिक २०८३, आइतबार 9:37 pm
Banner

आनी छोइङ डोल्माको नियुक्तिले लुम्बिनीमा खैलाबैला, बदर गर्न माग

काठमाडौं । आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएपछि लुम्बिनीमा खैलाबैला मच्चिएको छ। विभिन्न विवाद र काण्डमा जोडिएको भन्दै लुम्बिनी बचाउ महाअभियानले उनको नियुक्ति तत्काल बदर गर्न सरकारसँग माग गरेको छ।

अभियानले आइतबार पत्रकार सम्मेलन गरी नवनियुक्त उपाध्यक्षको वित्तीय पारदर्शिता, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र नागरिकताको वैधानिकताबारे प्रश्न उठाउँदै विवादित पृष्ठभूमिका व्यक्तिलाई लुम्बिनीजस्तो अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक महत्त्वको स्थलको नेतृत्व सुम्पिनु उचित नभएको जिकिर गरेको छ। अभियानद्वारा जारी विज्ञप्तिमा सन् २०१९ मा हङकङबाट स्रोत नखुलेको १६ लाख ४९ हजार ९४० अमेरिकी डलर अर्थात् करिब १८ करोड ३१ लाख रुपैयाँ उनको खातामा आएको दाबी गरिएको छ। उक्त विषयमा नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको उल्लेख गर्दै अभियानले रकमको स्रोत र वित्तीय पारदर्शिताबारे स्पष्टता माग गरेको छ।

त्यस्तै, आनी छोइङ डोल्माको आत्मकथा फूलको आँखामा मा उनका मातापिता तिब्बती शरणार्थीका रूपमा नेपाल आएको उल्लेख रहेको विषय उठाउँदै अभियानले उनको नागरिकताको वैधानिकताबारे पनि प्रश्न गरेको छ। नागरिकतासम्बन्धी आरोपको निष्पक्ष छानबिन हुनुपर्ने अभियानको माग छ।

अभियानले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनमा योगदान दिन सक्ने स्थानीय बुद्धिजीवी, बौद्ध धर्मका जानकार तथा योग्य व्यक्तित्वलाई बेवास्ता गरिएको आरोपसमेत लगाएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यसको नेतृत्व र व्यवस्थापनमा धार्मिक पवित्रता, संस्थागत पारदर्शिता तथा स्थानीय भावनालाई प्राथमिकता दिनुपर्ने अभियानका अध्यक्ष अक्रम खानले बताएका छन्।