काठमाडौं : नेपाली कांग्रेसका इतर पक्षका नेता शंकर भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी कांग्रेसलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। तनहुँमा पूर्वसभापति शेरबहादुर देउवा समूहको क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै पार्टीको ऐतिहासिक पृष्ठभूमि, विचार, सिद्धान्त र कार्यकर्ताको योगदानलाई बिर्सेर अघि बढ्न नसकिने बताए।
पार्टीको विधान र वैधानिक प्रक्रियालाई बेवास्ता गरेर गरिने गतिविधिले कांग्रेसलाई थप अन्योलमा पार्ने धारणा राखे। उनले विधानअनुसारका प्रक्रिया पूरा नगरी विशेष महाधिवेशन जबर्जस्ती गर्दा पार्टीभित्र विवाद सिर्जना गरेको बताए। कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा विचाराधीन विषय र निर्वाचन आयोगमा भइरहेको प्रक्रियालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
उनले भने, ‘विशेष महाधिवेशनको पनि आफ्नै वैधानिक व्यवस्थाहरू छन्। यी वैधानिक व्यवस्थालाई पूरा नगरी जबर्जस्ती ढङ्गले गरिएको विशेष महाधिवेशनले साथीहरूलाई रनभुल्ल पार्ने काम भयो। तर अहिले अदालतमा मुद्दा विचाराधीन मुद्दा छ, त्यसमा पुनरावलोकन हुनु आवश्यक छ। हामीले गर्न लागेको महाधिवेशनबारे पनि निर्वाचन आयोगलाई जानकारी गराइसकेका छौँ।’
उनले पार्टीलाई पूर्ण एकताबद्ध बनाउने उद्देश्यसहित नियमित महाधिवेशनमा सहभागी हुनुपर्नेमा जोड दिए। कांग्रेसले आफ्नो राजनीतिक मुद्दा स्पष्ट पार्दै राष्ट्रिय एकता, लोकतन्त्र र देश विकासका एजेन्डालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

