काठमाडौँ : नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ ।
महाधिवेशनका लागि काठमाडौँ महानगरपालिकासँग राष्ट्रिय सभा गृह र भृकुटीमण्डप पनि मागेर पत्राचार गरिएको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
यसअघि कांग्रेस संस्थापनले पनि १५ औँ महाधिवेशन खुलामञ्चमा गरेको थियो । नयाँ कार्यसमिति छान्ने निर्वाचन राष्ट्रिय सभागृहमा गरिएको थियो भने खानाका लागि भृकुटीमण्डप प्रयोग गरिएको थियो ।
तिवारीका अनुसार महाधिवेशनको स्थान माग गर्दै लेखिएको पत्र लगेर सम्पर्क कार्यालय चुनदेवीका कर्मचारी अमृत कार्की महानगरपालिकाको कार्यालयमा बिहीबार पुगेका थिए । महानगरले महाधिवेशनका लागि अनुमति दिएको समूहको निर्वाचन समितिका संयोजक अधिवक्ता एगराज पोखरेलले जानकारी दिए ।
समूहले महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा महाधिवेशनका लागि बुक गरेको हो ।
उनका अनुसार महाधिवेशन उद्घाटन र बन्दसत्र खुलामञ्चमा हुनेछ । मतदानको लागि सभागृह र खानाको लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गर्नका लागि बुक गरिएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
समूहले आगामी मंसिर २१ देखि २३ मंसिरसम्मका लागि महाधिवेशनको मिति तय गरेको छ । अहिले समूहले प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन गरिरहेको छ । महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने समूहका नेताहरू बताउँछन् ।

