काठमाडौं । भारतीय कंग्रेसका नेता तथा लोक सभामा विपक्षी दलका सांसद राहुल गान्धीले केन्द्र सरकार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि कडा टिप्पणी गरेका छन् ।
राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा आइतबार आयोजित इन्डिया गठबन्धनको विशाल जनसभालाई सम्बोधन गर्दै उनले देशलाई सही बाटोमा फर्काउने पहिलो कदम भनेकै ज्ञानेश कुमारलाई उनको पदबाट हटाउन जरुरी रहेको बताए ।
राहुलले यो देश केवल दुईतीन जना व्यक्तिको मात्रै नभएको भन्दै देशको संविधान र लोकतान्त्रिक मूल्यमान्यतासँग गरिने कुनै पनि किसिमको छेडछाड कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारे । उनले ज्ञानेश कुमारले गम्भीर अपराध गरेको आरोप लगाउँदै समय मै पदबाट राजीनामा दिन भने ।
‘ज्ञानेश कुमारलाई रातमा निद्रा लाग्दैन । उनी डराएका छन् । उनले सबैभन्दा गम्भीर अपराध गरेका छन् । उनले राष्ट्रको आवाजलाई दबाउने प्रयास गरेका छन्, घाँटी निमोठेका छन् ।’ गान्धीले भने, ‘म भारतका हरेक नागरिक र युवालाई भन्दै छु कि ज्ञानेश कुमारलाई प्रमुख निर्वाचन आयुक्तको पदबाट हटाइनेछ र उनी जेल पुग्नेछन् ।’
यस्तै, उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहमाथि पनि टिप्पणी गर्दै आफूहरुले घृणा फैलाउन नभई प्रेम फैलाउन चाहेको स्पष्ट पारे ।
‘ज्ञानेश कुमार नभएको भए न त नरेन्द्र मोदी प्रधानमन्त्री बन्न सक्थे, न त अमित शाह गृहमन्त्री नै बन्न सक्थे । हामी शत्रुता पाल्ने मानिस होइनौँ । हामी घृणा फैलाउन चाहँदैनौँ । हामी प्रेम फैलाउन चाहन्छौँ । यो विरोध प्रदर्शन कुनै एक दल वा नेताको मात्र होइन । यो राष्ट्रको विरोध प्रदर्शन हो । यो देशको आवाज हो, संविधानको रक्षाका लागि उठाइएको आवाज हो ।’ गान्धीले भने ।
यस्तै, गान्धीले सन् २०२४ को लोक सभा चुनावको निष्पक्षतामाथि पनि गम्भीर प्रश्न उठाए । गान्धीले त्यस निर्वाचनलाई ‘अवैध’ भने । गान्धीका अनुसार, सन् २०२४ को आम निर्वाचनपछि देशका १५ प्रतिशत मतदाताहरूको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
गान्धीले उक्त निर्वाचनमा व्यापक धाँधली भएको र यो कुरा निर्वाचन आयोग आफैले भनिरहेको दाबी पनि गरे ।
गान्धीले आज उठिरहेको आवाज कुनै राजनीतिक दल वा कुनै विशेष नेताको व्यक्तिगत आवाज नभई देशकै भएको बताए ।
उनले भने, ‘यो देशका युवाहरूको आवाज हो । आज युवाहरू आफ्ना अधिकार, आफ्नो भविष्य र आफ्नो पहिचानका लागि उभिएका छन् । देशका युवाहरू अहिले परिवर्तनको आह्वान गरिरहेका छन् र आफ्नो हकको माग गरिरहेका छन् । यो यस्तो माग हो जसलाई बेवास्ता गर्न सकिँदैन ।’

