१८ कार्तिक २०८३, बुधबार 12:46 pm
Banner

पार्टीबारे फैलाइएका भ्रम र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्छ : विद्यादेवी भण्डारी

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वभरका नेपालीको समस्या र आवश्यकता बुझेर काम गर्नुपर्ने बताएकी छन् ।  बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएकी हुन् ।

विशेषगरी वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै भण्डारीले तर प्रवासी नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्नु नमिल्ने बताइन् ।

‘विदेशमा रहँदा हासिल गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र कार्यसंस्कृति पनि देशका लागि उत्तिकै महत्त्वपूर्ण पुँजी हुन् । यसलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि र सेवा क्षेत्रको विकाससँग जोड्ने उपयुक्त वातावरण निर्माण गर्नु पर्दछ’, भण्डारीको भनाइ छ ।

उनले प्रवासी नेपालीहरू आफू बसेको मुलुकमा नेपालको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्ने जनस्तरका दूत पनि  व्यवहार, काम र गतिविधिमा नेपालको इज्जत र गरिमा प्रतिबिम्बित हुनुपर्नेमा जोड दिइन् ।

‘आफू बसेको मुलुकको कानुन, नियम र संस्कृतिको सम्मान गर्दै इमानदारी, मेहनत र व्यावसायिक दक्षताका साथ आफ्नो जिम्मेवारी पूरा गर्नु आवश्यक छ’, भण्डारीले भनिन्, ‘साथै, नेपाल र आफू बसेको मुलुकबिच आपसी समझदारी, मित्रता र सहकार्य अभिवृद्धि गर्न पनि तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।’

यद्यपि, विदेशमा रहेका नेपाली, विशेषगरी श्रमिकहरूले अनेकौँ कठिनाइ र समस्या भोग्नुपरेको यथार्थलाई पनि बिर्सन नमिल्ने पूर्व राष्ट्रपति समेत रहेकी भण्डारीको भनाइ छ । ‘श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी तथा सम्झौताविपरीत काममा लगाउनेजस्ता समस्या अझै विद्यमान छन् । त्यसैले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक छ’, भण्डारीको भनाइ छ ।

यसका लागि रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गरी श्रमिकको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति गरिनु पर्नेमा जोड दिँदै उनले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनु पर्ने बताइन् ।

प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास, जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवर्द्धन र पर्यावरणमैत्री पर्यटनको विस्तारबाट रोजगारी सिर्जना गर्न सकिने भन्दै भण्डारीले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिने धारणा राखिन् ।

‘यी सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्छ । यसमा प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलताको महत्त्वपूर्ण भूमिका रहन सक्छ’, भण्डारीले भनिन्, ‘उहाँहरूको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ ।’

नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढ्दै आएको नेकपा (एमाले) मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएकाले यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह गर्दै तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक रहेको बताइन् ।

‘पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नु पर्दछ’ भण्डारीले भनिन्, ‘विशेषगरी, विदेशमा रहनुभएका नेपाली समुदायमा नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही सूचना तथा विचार सम्प्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।’

अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहनेछ । अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । दुई दिन चल्ने अधिवेशनको समापन समारोहलाई नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।