२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 11:23 am
समाचार

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सूचना प्रेस २०८३ कार्तिक २७ शुक्रबार ००:००, ११:१२ बजे ३ मिनेट पढाइ

काठमाडौँ । देशका विभिन्न छ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोदेखि शुक्रबारसम्म धनुषा, सिराहा, तनहुँ, नवलपरासी पूर्व, बारा र कैलालीमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारी चोकस्थित सडकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पिडारी चोकबाट रत्न सागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा महोत्तरीको मनरा शिसवा नगरपालिका–५ कटैयाका २० वर्षीय नबिन चौधरी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, सिराहाको धनगढीमाई नगरपालिका–९ मुसहरनिया चोकस्थित सडकमा मधेश प्रदेश ०१–००५ प ६९६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ५५ वर्षीय श्रीराम यादवको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित सडकमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको म.प्र.०३–४८ प ६३७६ नम्बरको स्कुटर बिहीबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार सोही गाउँपालिका–१ आँधिमुलका २४ वर्षीय अमन भुजेलको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सिएमसी अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–३ देउरालीस्थित सडकमा गिरूबारीबाट बेलाहानीतर्फ आउँदै गरेको ना.३६ प २४२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ४८ वर्षीय कमल गाहाको बिहीबार राति मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरस्थित सडकमा शुक्रबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मटिअर्वाबाट बसतपुरतर्फ आउँदै गरेको बीआर ०५ एबी ७७५९ नम्बरको मोटरसाइकलले ना.३६ प १५३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ना.३६ प १५३९ नम्बरको मोटरसाइकलमा सवार देवताल गाउँपालिका–५ धुरहाकी ३० वर्षीया शिवपुजनी देवी गम्भीर घाइते भएकी थिइन् । उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बीआर ०५ एबी ७७५९ नम्बरका मोटरसाइकल चालकको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ भने अर्का मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित सडकमा से.४ प ४५८५ नम्बरको मोटरसाइकल र सु.प.प्र.०२–००३ प ८१५५ नम्बरको स्कुटर बिहीबार बेलुकी एकआपसमा ठोक्किँदा स्कुटर चालक धनगढी–५ तारानगरकी ३५ वर्षीया सुशिला बमको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जना र स्कुटरमा सवार १ जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।