३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 10:56 am
समाचार

छठ पूजास्थल तोडफोड गरेको अरोपमा २ जना पक्राउ

सूचना प्रेस २०८३ कार्तिक ३० सोमबार ००:००, १०:४३ बजे २ मिनेट पढाइ

इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नामा छठ पूजाका निर्माण गरिएको छठस्थल तोडफोड गरेको अरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

छठ पूजाको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर भक्तजन घरतर्फ फर्केका बेला पक्राउ परेकाको समूहले तोडफोड गरेको आरोप रहेको छ ।

घाटमा तोडफोडबाट क्षति भएका पूजास्थललाई पुनःनिर्माण गरी पूर्व अवस्थामा ल्याइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीसहितको सहभागितामा पूजास्थल पुनः पूर्ववत् अवस्थामा फर्काइएको थियो ।

धार्मिक आस्थासँग जोडिएको छठ पर्वका लागि निर्माण तथा सजावट गरिएको सुनसरी हरिनगर ६ अर्नमा घुस्की छठ घाटमा तोडफोड भएपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।

छठ पर्व कुनै एक समुदायको मात्र धार्मिक गतिविधि नभई सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ । यस्तो पर्वका लागि तयार पारिएको घाटमा तोडफोड हुनु दुःखद विषय हो । धार्मिक आस्था र परम्परासँग जोडिएका संरचनामाथि हुने कुनै पनि प्रकारको अवाञ्छित गतिविधिले समुदायबीच अविश्वास र असमझदारी बढाउन सक्ने भएकाले घटनालाई संवेदनशील रूपमा लिनुपर्ने देखिन्छ । यता समाजका अगुवाहरुले छठघाट तोडफोडमा सलग्न ब्यक्तिलाई कानुनी दायरामा ल्याउनका लागि चौतर्फी रुपमा अवाज उठाउन थालेका छन् ।

घटनाको वास्तविक कारण, तोडफोडमा उनीहरुको भूमिका र अन्य सम्भावित संलग्नताबारे निष्पक्ष अनुसन्धान हुनु आवश्यक छ । अनुसन्धानबाट दोषी ठहर हुने व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाही गरिनुपर्ने स्थानीयबासी तथा समाजिक क्षेत्रका अगुवाहरुले माग गरेका छन् ।