३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 11:51 am
समाचार

६ किलो चरेससहित दुई जना पक्राउ

सूचना प्रेस २०८३ कार्तिक ३० सोमबार ००:००, ११:५१ बजे १ मिनेट पढाइ

काठमाडौँ : मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले चित्लाङस्थित प्रहरी चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो । प्रहरीकाअनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु जे ६ टी मोडलको एसयूभी गाडी जाँच गर्ने क्रममा डिक्कीमा राखिएका लगेजभित्र लुकाइएको अवस्थामा चरेसजस्तो पदार्थ फेला परेको थियो ।

कालो रङको लगेजभित्र लत्ताकपडासँगै सेतो प्लास्टिकले बेरिएका पाँच वटा पोका फेला परेका थिए । प्रहरीले स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको उपस्थितिमा कानूनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम पदार्थ बरामद गरेको जनाएको छ । प्रहरीले गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र गाडीमा सवार चितवनको भरतपुर महानगरपालिका–११ कोलटाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई नियन्त्रणमा लिएको छ ।

बरामद पदार्थ, गाडी र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।