गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत कुमार केसी मृत भेटिएका छन् । उनी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको सिनियर अधिकृतको निवासमा अचेत अवस्थामा फेला परेका थिए ।

मंगलबार बिहान साढे ९ बजेसम्म पनि केसी नउठेपछि उनको खोजी गरिएको थियो । क्वार्टरको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई अचेत अवस्थामा बाहिर निकालेको थियो ।
तत्काल अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले घटनाबारे जानकारी दिएका हुन् ।
केसीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने एसपी बोगटीले बताएका छन् ।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी निरीक्षक केसीको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


