३ जेष्ठ २०८३, आइतबार 1779040900
Banner

पोखरा बाढी अपडेट : हेम्जाका ३ सय घर डुबानमा, क्षतिको विवरण सङ्कलन हुँदै, ५ सय बढी विस्थापित

गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३ सय भन्दा बढी घर डुबानमा परेका छन्।

वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दी चोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए। यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्ण रुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ। डुबान र पहिरोको कारण ५ सय हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए।

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन। उनले भने, भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन्। पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याए पनि मानवीय क्षति भएको छैन।

घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो। उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकोमा आश्रय लिएका छन् । जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए।

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरोमा बगेर पूर्ण क्षति भएको छ। अर्को एक घर पहिरोमा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए।

पहिरोबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उनले जानकारी दिए।