२४ मंसिर २०८१, सोमबार 1733793075
खेलकुद

एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने

मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) ले भाग लिने भएको छ । एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा मलेसिया जाने ३० सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । टोली आज राति नै मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इण्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग खेल्नेछ । एनआरटीले इण्डोनेसियाको कारो एफसीसँग यही असार १६ गते खेल्नेछ भने असार १८ गते मलेसियाको पेनाङसँग खेल्नेछ । लिगको अङ्कको आधारमा विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । पेनाङ सिटी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङ्गेट र उपविजेता टोलीले पाँच हजार मलेसियन रिङगेट प्राप्त गर्नेछ । यसैगरी एनआरटी टोली मलेसिया भ्रमण सकिए लगतै त्यहीबाट थाइल्याण्ड जानेछ । एनआरटीले मलेसिया र थाइल्याण्ड भ्रमणकै लागि विभिन्न क्लबका नौ खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ । एनआरटीले मछिन्द्रका विशाल श्रेष्ठ र रेजिन सुब्बासँगै छिरिङ गुरुङलाई अनुबन्ध गरेको हो ।

यसैगरी थ्रीस्टार क्लबका सन्जोक राई, च्यासलका रुमेश बर्तौला, सङ्कटाका सुवास गुरुङ, जावलाखेलका निकोलस फर्नान्डेस र गौरव श्रेष्ठ छन् । नयाँ खेलाडीको रुपमा गोलरक्षक जि टोलो लुन्ड्री रहेका छन् । पुजन होना, दिपेश घले, मेसुके ओलोमोउ, स्टेफन समिर विनोङ, शिव गुरुङ, सरोज तामाङ, अशोक थापा मगरलाई टोलीमा निरन्तरता दिएको छ । त्यसैगरी थाइल्याण्डमा पनि एनआरटीले तीन वटा मैत्रिपूर्ण खेल खेल्नेछ ।