४ आश्विन २०८१, शुक्रबार 1726826255
Banner

झापामा वर्षाले दुई सीमास्तम्भ डुबान, २७७ घरपरिवार प्रभावित, १० लाखको कुखुरा म¥यो

झापा। झापामा सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण २७७ घरपरिवार प्रभावित भएका छन्। वर्षाले जिल्लाका विभिन्न स्थानमा भएको डुबान तथा नदी–खोलामा आएको बाढी गाउँबस्ती पस्दा उनीहरु प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

गौरीगञ्ज, शिवसताक्षी, गौरादह, बाह्रदशी, बिर्तामोड, झापा, कचनकवल, भद्रपुर, कमल, दमकलगायतका स्थानमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको क्षति विवरणमा उल्लेख छ।

कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढीले सो स्थानमा रहेको नेपाल–भारत सीमास्तम्भ (पिलर नं २८, २९) डुबान भई नदेखिने भएको कार्यालयले जनाएको छ।

त्यस्तै शिवसताक्षी नगरपालिका–१ स्थित हरिदेव ताजपुरियाको कुखुरा फाराममा पानी पस्दा रु १० लाख ४० हजार बराबरको एक हजार दुई कुखुरा मरेको कार्यालयले जनाएको छ। जिल्लामा मानवीय क्षति भने भएको छैन।

शिवशताक्षी–११ इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालमा पानी पस्दा दुई वटा कम्प्युटरमा क्षति पुगेको छ। यस्तै झापा गाउँपालिका–६ बालुबथानमा तिरिङखोलाको बाँध फुटेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बाँध बाँध्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्लाका विभिन्न स्थानमा घर तथा पसलहरुमा पानी पसेको छ। जसका कारण चामल, दाललगायतका खाद्य सामग्री नष्ट भएको कार्यालयले जनाएको छ। रासस