काठमाडौं । नेकपा एमालेले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको बैठकले पार्टीमा अराजकता निम्त्याउनेलाई कारबाही गर्न कार्यदल गठन गरेको हो।
स्थानीय तहको निर्वाचनमा गठबन्धन र सरकारको घेराबन्दीबीच पहिलो शक्ति नबनेपछि पार्टीभित्रकै अराजकताको कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनको समीक्षा गरेर असार मसान्तसम्म जिल्ला र प्रदेश कमिटीलाई आत्मसमीक्षा रिपोर्ट पठाउन निर्देशन दिएको बताउनुभयो ।
साथै पार्टीभित्र देखिएको समस्या समाधान र परेको उजुरीका बिषयमा उपाध्यक्ष बिष्णु पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको उहाँले जानकारी गराउनुभयो। त्यसले आवश्यक अध्ययनपछि रिपोर्ट ल्याउँछ। आवश्यक परे कारवाही समेत गर्नसक्छ गुरुङले भन्नुभयो ।