१ जेष्ठ २०८३, शुक्रबार 1778888833
Banner

संसदीय छानबिन समिति बनाएर आजै अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नुपर्ने माग गर्नुभएको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्मामाथि प्रश्न उठेकाले यसलाई समाधान गर्न संसदीय छानबिन समिति बनाएर वास्तविकता बाहिर ल्याउनपर्ने खड्काको माग छ।

‘बजेट निर्माणको वेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ‚’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ‚ ‘विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ।’ अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको आरोप छ।

यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको थियो । अर्थमन्त्रीले राजीनामा स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले अर्थमन्त्रीबाट हटाउनुपर्ने प्रमुख प्रतिपक्षि दल, सत्तारुढ दल र नागरिक समाजका अगुवाहरुले समेत माग गरिरहेका छन् ।