भक्तपुर । भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ । उहाँले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाउनुभएको छ । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ भने हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ । साउन महिनामा विवाहित नारीले हरियो, पहँेलो र रातो रङका पहिरन हरियो चुरा, हातमा मेहेन्दी लगाई सोमबार शिवजीको व्रत बसे श्रीमान्को आयु लामो हुने र आफू पनि सौभाग्यवती हुने भन्ने विश्वासले साउनमा हरियो, पहँेलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ ।
खस आर्य समुदायका महिलाबाट शुरु भएको फेसन अहिले स्थानीय नेवार समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ । हिन्दु परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिको दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने हरियो चुरा र मेहेन्दी लगाउने प्रलचन भने फैलिएको छ । साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले पनि हरियो, पहेँलो चुरा र हत्केलामा मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका रेनु मानन्धरले बताउनुभयो । त्यसैले अन्य महिनामा भन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उहाँले बताउनुभयो । “अहिले त झन फेन्सी डिजाइनको रङ्गीन चुरा र पोते आएको छ, राख्न नपाउँदै विक्री भइहाल्छ”, उहाँले भन्नुभयो । सबै देवीदेवतालाई मन पर्ने महिनाका रूपमा साउन महिनालाई लिने भएर महिलाहरुले साउन महिनाभरि हातमा हरियो चुरा र मेहेन्दी लगाउने श्रृङगार कस्मेटिक पसलकी राधा श्रेष्ठले बताउनुभयो । “साउन महिना प्राकृतिकरूपमा हरियो महिना हो । जता गए नि हरियाली नै हरियाली देखिन्छ । त्यसैकारण साउनमा हामी महिलाहरु पनि प्रकृतिसँग जोडिएको हिस्साका रूपमा हरियो चुरा लगाउने परम्परा बसालिएको हो”, उहाँले भन्नुभयो, “साउन महिना धार्मिक, साँस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिन्छ ।” साउनमा विशेषरूपमा मनाउने सोमबार व्रत बस्ने गरेकाले पनि रङ्गीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको उहाँले बताउनुभयो ।
पछिल्लो समय साउन महिनामा विवाहित होस् या अविवाहित महिला, सिँगारपटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहेन्दीले सजिएर हिँड्नेहरुको कमी छैन । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय वृद्धि भएको देखिन्छ । भक्तपुर व्यासीको श्रृङगार कस्मेटिक पसलकी राधाले साउन महिनामा अरु महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुने बताउनुभयो । “यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याईं नै गर्दैनन्, जति भन्यो त्यति नै तिरेर सामान लान्छन् । अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन”, उहाँले भन्नुभयो । उहाँका अनुसार अरुबेला दैनिक दैनिक रु आठदेखि १५ हजारको श्रृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहेन्दी, पोते र चुरामात्र दैनिक २५ देखि ५० हजारसम्म व्यापार गर्दछन् । साउन महिनाका लागि असारको पहिलो हप्तादेखि नै सामान सङ्कलन गर्नुपर्ने राधाले बताउनुभयो । “असार शुरु भएसँगै साउनका लागि सामानको जोहो गर्न सके राम्रै व्यापारसँगै कमाइ पनि हुन्छ”, उहाँले भन्नुभयो । साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेको छ । हिन्दू संस्कार मान्ने खस आर्य समुदायका महिलाले मात्र होइन अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन् । हिन्दू धर्मावलम्बीहरुले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा भएकोले पनि साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरु बताउँछन् । रासस