संसदीय निर्वाचन नजिकिंदै जाँदा बालुवामा छरिएको तोरीझै छरिएर हराउन लागेका साना वाम दलका नेताहरू छुट्टै गठबन्धन बनाउने कसरतमा जुटेका छन् । माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनताको बहुदलीय जनवादी लाइनमै भएको दावी गर्ने माधव नेपाल र झलनाथ खनाल, जबज नेपालको मात्र होइन, विश्वकै विचार भएको कुनै बेला जिकिर गर्ने बामदेव गौतम, माओत्सेतुङ विचारधाराका अब्बल अनुयायी नारायणकाजी श्रेष्ठ र माओवादसहित साम्यवादी विचारबाट पहिल्यै विरक्तिएर दक्षिणपन्थी गठजोड गर्दै आएका डा. बाबुराम भट्टराई मिलेर समाजवादी केन्द्र बनाउन कस्सिएको समाचार बाहिर आएका छन् ।
साविक नेकपाबाट उछिट्टिएको माओवादी केन्द्र र एमालेबाट चोइटिएको माधव(झलनाथ समूहलाई पोल्टामा राखेर स्थानीय चुनावमा बाजी मारेको नेपाली काङ्ग्रेसले हौसिएर आगामी निर्वाचनसम्म यी चोइटिएका वामलाई काखैमा राखेर एकल बहुमत ल्याउने र आफ्नै नेतृत्वमा शासन गर्ने निर्णय गरेपछि तिल्मिलाएका प्रचण्ड र माधव नेपाललाई बाबुरामको ‘समाजवादी अस्त्र’ले काम गरेको देखिन्छ ।
झन प्रचण्डको भारत भ्रमण अपेक्षाकृत सफल हुन नसकेपछि नेपाली काङ्ग्रेससंग गठबन्धन कायम राख्ने, भारतलाई देउबाभन्दा बढी रिझाएर आगामी संसदीय निर्वाचनलगत्तै आलोपालो भन्दै काङ्ग्रेसकै सहयोगमा प्रधानमन्त्री बन्ने सपना तुहिएपछि प्रचण्डको छट्पटी चुलिएको सहज अनुमान गर्न सकिन्छ । चीनको प्रयासमा नेपालमा पुनः वामएकताको प्रयास भइरहेको भारतलाई हाउगुजी देखाएर आफू वाम –लोकतान्त्रिक गठबन्धनकै पक्षमा रहेको बताउने उदेश्य नै प्रचण्डको हठात् भारत भ्रमणको प्रमुख उदेश्य थियो । तर भारतले प्रचण्डलाई ग्रीन सिग्नल दिएन, महत्व दिएन । उसले केवल प्रचण्डलाई एमालेसंगको दूरी बढाउने तारतम्य गर्यो ।
उपेन्द्र यादवबाट उछिट्टिएका बाबुराम भट्टराई आफू पार्टी पनि चलाउन नसक्ने र कसैको पार्टीमा प्रवेश गर्न नसक्ने हालतमा छन् । यो बीचमा उनले एमाले अध्यक्ष के पी शर्मा ओलीसंग पनि पटक–पटक छलफल गरे । तर एमालेले उनका कतिपय विषाक्त विचारलाई एमालेमा प्रवेश गराउन चाहेन । नेकपा (एमाले) र जनताको बहुदलीय जनवाद स्वीकारे नेतृत्व व्यवस्थापन र कार्यकर्ता व्यवस्थापन गर्न सकिने जवाफ चित्त नबुझेपछि बाबुराम फेरि प्रचण्डको दैलोमा पुगेका छन् । ‘आफ्ना बचेखुचेका नेता कार्यकर्तालाई कसैको दैलोमा पुर्याएर विश्राम लिने’ बाताउँदै आएका उनी अन्ततः पुरानै ‘भत्किएको घर’को दैलोमा शरणमा पुगेका छन् ।
आम निर्वाचन नजिकिंदै जाँदा पत्तासाफ हुने भयले निन्द्रा पर्न छोडेका माधव नेपाल र झलनाथ खनाललाई समेत लट्पट्याएर आफ्नो नेतृत्वमा समाजवादी केन्द्र बनाउने, अन्तिमसम्म नेपाली काङ्ग्रेस र एमालेसंग त्यही गठजोड देखाएर बार्गेनिङ् गर्ने र एनकेन प्रकारेण प्रधानमन्त्री बन्ने प्रचण्डको दाउ छर्लङ्ग देख्न सकिने कुरा हो ।
सबैले सहज अनुभूत गरेको विषय हो, नेपालमा समाजवाद नेकपा (एमाले)को हस्तक्षेपकारी सङ्गठित प्रयत्नबाट मात्र संभव छ । एमालेले तीन वर्ष शासन गर्दा सुरु गरेका धेरै कामहरूलाई निरन्तरता दिएर वा नयाँ कामहरूको थालनी गरेर मात्र समाजवादको आधार निर्माण गर्न सकिन्छ । समाजवादको आधार निर्माण गर्न र ती आधार टिकाइ राख्न एमालेजस्तो अजेय शक्तिको आवश्यक पर्छ । जनताबाट तिरस्कृत केही आउटडेटेड बाम नेताले एमालेलाई देखाइदिने प्रमुख उदेश्य राखेर बनाउन खोजिएको ‘समाजवादी केन्द्र’ले समाजवाद निर्माण गर्ने होइन, बरु सङ्कट निम्त्याउने छ । भद्रगोलमा गोल गर्ने बानी परेका प्रचण्डको लागि त यो यति भयानक भद्रगोल हुनेछ कि उनी र उनको पार्टीलाई नै यसले गोलमटोल पारिदिने छ । दाहिनेतिर बाबुराम र बाँयातिर बिप्लव राखेर प्रचण्ड माधव नेपालहरूले समाजवादको ताँदो खिच्न कदापि सक्ने छैनन् ।
मोहनविक्रमको रुग्ण स्कुलिङ् र भारतीय खुपिया मास्टरहरूको ज्ञानका शिकार डा. भट्टराई, माओवाद, निरन्तर क्रान्ति, विपरितहरूको एकत्व, अग्रगामी छलाङ्, ढाडमा टेकेर टाउकोमा हान्नेजस्ता ‘महान’ वैचारिक विषयबाट दिक्षित प्रचण्ड, जीवनको अधिकांश समय जबजले आफ्नो दिमागी घैंटो भरेका माधव नेपाल र वामदेव गौतम, जबजप्रति कहिले विरोध र कहिले ओठे समर्थन गर्ने झलनाथ खनाल र वैचारिक रूपमा सधैं अस्पष्ट एवम् विवादास्पद नारायणकाजी श्रेष्ठजस्ता विजातीयहरूको भ्यागुत्ताको धार्नी पुग्ने संभावना छैन । अझ त्यसमा विप्लवलगायतका साना वाम पनि मिसिए त त्यो हेर्न लायक ‘केन्द्र’ हुनेछ ।
नेपालका दुई ठूला दल नेकपा (एमाले) र नेपाली काङ्ग्रेस आफ्नै तागतमा सत्तामा पुग्ने तयारीमा जुटिसकेका छन् । बहुमतसहित नेकपा (एमाले) सत्तामा पुग्दा देश समाजवादी गन्तव्यमा जाने र कथम् कदाचित् बहुमतसहित नेपाली कांग्रेस सत्तामा पुगेमा देश दलाल पूँजीवादी दलदलमा फस्ने निश्चित छ । यस्तो भावी दृश्य देख्दा देख्दै बीचमै बरालिने वामहरूलाई जनताले साथ दिने छैनन् बरु समयले उनीहरूलाई धिक्कार्ने छ । पहाड खनेर मुसो पनि ननिक्लने जान्दाजान्दै किन मरिहत्ते गर्नु ?