काठमाडौं । नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताउनुभएको छ। आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनुभयो ।
उहाँले सरकारको श्रवणशक्ति गुमेकाले कानको उपचार आवश्यक भएको र जनताले चुनावमा कानको उपचार गर्ने विश्वास व्यक्त गर्नुभयो। ‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनको लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो। सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने। सभामुखले दिएको निर्देशन पनि नसुन्ने होइन सरकारले कहिलेदेखि कान सुन्नलाई श्रवणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन ? म त्यो रोष्टममा उभिनुको तात्पर्य त अहिले खुल्यो होला नि। एक महिना भयो सरकारले गरेको निर्णय। सभामुखले दिएको निर्देशन पनि नसुन्ने। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कुरा पनि नसुन्ने। रोष्टमबाट बोल्दा अलिकति सुन्छ कि भनेको, कानको उपचार त राम्ररी गर्नुपर्ने। नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ।’