९ मंसिर २०८१, आइतबार 1732439646
Banner

नागरिकको सूचनाको हक सुनिश्चित गर्न रासस चुस्तरूपमा लागोस्ः प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको दु्रतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति ९रासस०को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो । “यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित् गर्न राससले पनि आफ्ना सेवालाई थप चुस्त बनाउन सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने मेरो कामना छ” उहाँले भन्नुभयो ।

राससले आफ्नो भौतिक विकाससँगै सूचनामा पहुँच बढाई सञ्चारमाध्यममार्फत देशवासीलाई सुसूचित गर्ने काममा अब्बलरूपमा आफूलाई स्थापित गर्न सक्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । रासस नेपालका आमसञ्चारमाध्यमलाई समाचार प्रदान गर्दै आएको सेवा प्रदायक समाचार संस्था हो । विसं २०१८ मा स्थापना भई नेपालका सञ्चारमाध्यमहरुलाई समाचार सेवा प्रदान गर्दै आएको राससले आफ्नो स्थापनादेखि नै नेपाली र अङ्ग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्वीर उपलब्ध गराउँदै आएको छ । साथै हालै मात्र राससले टेलिभिजन एवं डिजिटल मिडियाका लागि श्रव्य दृश्य ९भिडियो० सेवा पनि सुरु गरेको छ ।

प्रधानमन्त्री देउवाले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गरी नागरिकलाई सूचना प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि नागरिकलाई सूचना दिनु भनेको उनीहरुको मौलिक हकको सम्मान गर्नु हो । वर्तमान सरकार यही मान्यतामा अडिग छ । सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर उनीहरुको अवसर एवं ज्ञानको स्रोत पनि हो । त्यसैले कुनै पनि नागरिकलाई सूचनाबाट बञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर राससले काम गर्नुपर्छ ।”

वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न कटिबद्ध रहेको उल्लेख गर्दै उहाँले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको बताउनुभयो । सरकारको यो मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाहरूले पनि सम्मान र विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो । जहाँ लोकतान्त्रिक शासन प्रणाली छ, त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव हुने बताउँदै उहाँले यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री देउवाले सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारीरूपमा अघि बढ्न सकोस् भनी शुमकामना व्यक्त गर्नुभयो । “राससले समयानुकूल आफ्ना समाचार सेवाहरुमा विकास गर्दै लैजानु आवश्यक छ र यसका लागि प्रविधि र आफ्नो क्षमताको विकास र विस्तारमा पनि ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

स्वदेशी र विदेशी सञ्चारमाध्यमहरुलाई समेत समाचार सेवा प्रदान गर्दै आएको छ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा रहेर काम गर्न र नागरिकको सूचनाको अधिकारको सम्मान गर्दै अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

राज्यको चौथो अङ्ग पत्रकारिता क्षेत्रको व्यवस्थित विकासका लागि विश्वासिलो, सत्य र तथ्यपूर्ण सूचना तथा समाचारको आवश्यकता पर्ने उल्लेख गर्दै राससले यो आवश्यकता धेरै हदसम्म पूरा गर्दै आएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।