काठमाडौँ । परराष्ट्रमन्त्री डा। नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताउनुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिनुभयो ।
‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहन्छु,’ मन्त्री खड्काले संसद् बैठकमा भन्नुभयो ।