१७ कार्तिक २०८१, शनिबार 1730560330
Banner

हामी एक चीन नीतिमा विश्वास गर्छौं : अध्यक्ष ओली

काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले एक चीन नीतिमा विश्वास गर्ने बताउनुभएको छ । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउने पत्रकारसँग अन्तरक्रिया गर्दै बिहीबार ओलीले अरुजस्तो बाहिर–बाहिर एक चीन नीति भन्ने र भित्र–भित्रै फरक काम गर्ने नभएको बताउनुभएको हो ।

अमेरिकी सभामुख नान्सी पेलोसीले दुई दिनअघि ताइवान भ्रमण गरेको प्रसंगमाथि टिप्पणी गर्दै ओलीले छिमेकीहरूसँग भरपर्दो छिमेकीपनको भूमिका निभाउने बताउनुभयो ।

‘संसारको कुनै पनि देशको संवेदनशीलता हुने भएकाले कसैको पनि आन्तरिक मामिलालाई हस्तक्षेप गर्नु हुँदैन । कसैको पनि शान्ति खल्बल्याउने खालको काम गर्नु हुँदैन,’उहाँले भन्नुभयो,‘तिब्बतमा हाम्रो प्रस्ट धारणा छः यसमा हाम्रो धारणा तलमाथि हुँदैन । ठूला शक्तिहरू र अन्तर्राष्ट्रिय शक्तिहरू के गर्छन् आ–आफ्नो स्थानमा छ तर हामी हाम्रो भूमि अरू कसैको विरूद्ध प्रयोग हुन दिन्नौं ।’ ओलीले दुई देश (अमेरिका र चीन) बीच टिप्पणी गर्न उचित नहुने बताउनुभयो। भविष्यमा पनि शान्ति खलबल्याउने काम नहोस् भन्ने आफ्नो चाहना गरेको प्रस्ट छ उहाँले भन्नुभयो ।