१६ असार २०८३, मंगलबार 1782864610
पर्यटन

सूर्यविनायकको गुण्डुमा द्धारका धाम निमार्ण हुने

भक्तपुर : सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ। श्रीमद्भागवत् तथा गौ संरक्षण केन्द्रले हिजो यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारका धाम जस्तै नेपालमा पनि सूर्यविनायकको गुण्डुमा द्वारका धाम बन्ने बताएको हो।

सूर्यविनायक–७ गुण्डुको पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारका धाम निर्माण कार्य सुरु गर्न लागेको गुण्डुस्थित पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले जानकारी दिए।

पत्रकार सम्मेलनमा शास्त्रीले भने, ‘भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर यहाँको धार्मिक विकासमा टेवा पुर्‍याएका छौँ, अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो पटक द्वारका धाम निर्माण गर्न लागेका छौँ, यसले धार्मिक पर्यटनको विकासमा समेत टेवा दिनेछ।’

यही साउन २५ गते शिलान्यास हुने द्वारका धाम यहाँकाे करिब आठ रोपनी क्षेत्रफलमा रु १० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गुरुयोजनाका साथ कार्य अगाडि बढाइएको उनले बताए।

द्वारका धाम मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउँदै उनले भारतको द्वारका धाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको जानकारी दिए। उनले तीनवटै सरकार र दाताबाट सङ्कलन हुने रकमबाट मन्दिर निर्माण गर्ने लक्ष्य राखेको बताए। द्वारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषि मूर्ति स्थापना गरिने उनकाे भनाइ थियो।