३१ जेष्ठ २०८३, आइतबार 1781420085
Banner

महाअभियोग प्रस्ताव प्रतिनिधि सभाको म्याद सकिने बेलामा ल्याउनुको नियत के हो ?

काठमाडौं – प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले चुनावको मिति तोकीसकेको अवस्थामा प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमा प्रतिनिधिसभा बैठकमा छलफल गर्नु उचित नभएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफलमा भाग लिँदै महाअभियोग प्रस्ताव माथि अब छलफल गर्नुको कुनै औचित्य नभएको अधिकारी बताउनु भएको हो ।

यो संसद्को बाँकी कार्यकालमा महाअभियोग प्रस्ताव निराकरण हुन नसक्ने तर्फ उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधि सभा र सांसदको आधिकारिकता माथि नै प्रश्न उठेको प्रति उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभयो । यस्तो काम कदापि हुनु नहुने र यसले गलत नजिर बस्ने उहाँले बताउनुभयो । ‘हामी गलत नजिर बसाल्न जाँदैछौ’, उहाँले भन्नुभयो ।

प्रतिनिधि सभामा पाँच महिनाअघि नै दर्ता भएको महाअभियोग प्रस्ताव झुलाएर राखी प्रतिनिधि सभाको म्याद सकिने बेलामा ल्याउनुको पछाडि कस्तो नियत छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो । प्रतिनिधि सभामा प्रस्ताव माथि छलफल भयो भनेर देखाउन वा आरोपीलाई चोख्याउन छलफल सुरु गरेको ? भन्दै उहाँले प्रश्न उठाउनुभयो ।

‘हामीले समय भित्रै यो कार्य सम्पादन गर्नेगरी आउनुपर्ने थियो । अहिले त हामी कहाँ छौँ रु हाम्रो समयले हामीलाई यो अनुमति दिन्छ कि दिँदैन रु त्यसकारण साच्चै हामी निजलाई अभियुक्त करार गरेर, दोषी करार गरेर मुक्त गर्न खोजेका हौँ कि वा कुनै अभिष्ट पूरा गर्नको निम्ति यो हामीले दर्ता गरेका हौँ रु’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘यस्तो किसिमको अपरिपक्वता संसदले व्यहोर्नुपर्ने हुनुहुँदैन। संसदले समयभित्रै निरुपण गर्न सक्ने सामर्थ्य राख्छ र प्रतिनिधि सभाले सामर्थ्य राख्थ्यो तर अहिले लिएर आएर अनि यसमा छलफल गराए, रित पुर्‍याए भन्ने मात्रै काम गर्नु हाम्रो अयोग्यताको पराकाष्ठा हो भन्ने मलाई लागेको छ। यस्तो काम कदापी नहोस् र नजिर पनि नबसोस् भन्नेपनि म अनुरोध गर्न चाहन्छु।’