१७ कार्तिक २०८१, शनिबार 1730566998
Banner

लेखक–कलाकारमा जनताको मनस्थिति बदल्ने सामर्थ्य हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामथ्र्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको राजनीतिक, वैचारिक र सांस्कृतिक प्रशिक्षणलाई  सम्बोधन गर्दै उहाँले जनजीविकाका सवाल र समृद्धिको यात्रामा अग्रगामी विचार र पक्षधरलाई स्रष्टाहरुले साथ दिई मुलुकको स्थायित्व र विकासका लागि योगदान दिन सक्नुपर्नेमा पनि जोड दिनुभयो । महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धि हाँशिल गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले माक्र्सवादीले धर्म र अन्धविश्वासमा आशक्त नभइ वैज्ञानिक खोज र अध्ययनतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पार्टीको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समृद्धिको लक्ष्य लिएको एमालेलाई विजयी गराउन आग्रह गर्नुभयो ।

महासङ्घका कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले आगामी दिनमा रचनाशिल्प र विविध विधागत सवालमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिनुभयो । उपाध्यक्ष आरसी न्यौपानले ‘जनताको बहुदलीय जनवाद’ को साहित्य र सौन्दर्यबारे जागरण ल्याउनुपर्ने बताउनुभयो ।