९ मंसिर २०८१, आइतबार 1732490864
Banner

एमाले अध्यक्ष ओलीसँग रवीन्द्र मिश्रको भेट, एक मुठ्ठी सिक्का उपहार

काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

भेटका लागि मिश्र हिजो साँझ ओली निवास बालकोट पुगेको बताउनुभयो । त्यसको भोलिपल्ट मिश्रले ओलीसँग अढाई घण्टा आफ्नो भेटवार्ता भएको बताउनुभएको हो । ‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।’ मिश्रले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

‘तपाईँ धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ भन्ने आफ्नो प्रश्नमा ओलीले आफू अहिले पनि राती सुत्नुअघि कम्तीमा एक घण्टा पढ्ने गरेको जवाफ दिएको मिश्रले उल्लेख गर्नुभएको छ ।

ओलीले ‘तपाईँ चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।’ भनेर सुझाव दिएको मिश्रले बताउनुभयो । भेटको अन्त्यमा ओलीले आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएका एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको तस्बिरसहित मिश्रले फेसबुकमा राख्नुभएको छ ।