२४ भदौ २०८३, बुधबार 1788958094
Banner

भारतीय स्थल सेनाध्यक्ष मनोज पांडे भोलि नेपाल आउँने

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे भोलि नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ।

भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ।

यसैगरी उहाँले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ। जनरल पांडेले भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको निर्देशनालयले जनाएको छ।