३१ जेष्ठ २०८३, आइतबार 1781491304
Banner

मन्त्रीलाई लाइनमा राख्ने सुरक्षागार्डलाई पाँच दिन हिरासतमा राखिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाएको आरोपमा पक्राउ परेका सुरक्षागार्डमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको छ।

मन्त्रीलाई लाइनमा बस्न लगाएको आरोपमा पक्राउ सुरक्षागार्ड शेरजंग गुरुङमाथि अनुसन्धानका लागि प्रहरीले ५ दिनको समय (म्याद) पाएको छ। गुरुङ अब ५ दिन प्रहरीको हिरासतमै रहने भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले सुरक्षागार्ड गुरुङमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको जानकारी दिए। गुरुङलाई प्रहरी वृत्त दरबारमार्गमा राखेर अनुसन्धान अघि बढाइएको छ । अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको इजलासले ५ दिनको म्याद थप गरेको हो।

मन्त्री श्रेष्ठ शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि पुगेका थिए। बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले लाइनमा बस्न लगाएका थिए।