ठमाडौं – राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्नु भएको छ ।
आज राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताउनु भएको हो ।
उहाँले मन्त्रीको यस्तो व्यवहार स्वीकार्य नहुने बताउनु भयो । उहाँले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरू जनताको शासक नभई सेवक भएको बताउनु भयो ।
यस्तो घटना फेरि पनि नदोहोरियोस् भन्नका लागि उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनु भयो । उहाँले भन्नुभयो– ‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अङ्गहरू जनताका सेवक हुन् । शासन होइनन् । दुई दिन अगाडी मात्रै हो, एक जना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा खेरी एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ । उहाँले यसमा सार्वजनिक रूपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ । तर सार्वजनिक रूपमा माफी माग्नुपर्छ । किनभने हामी सेवक हौँ । शासक होइनौँ । यो कुरालाई स्थापित गर्नुपर्छ । यो एकजना सुरक्षा गार्ड र एकजना मन्त्रीको मात्रै कुरा होइन । विधि बनाउने हामी, विधि उल्लङ्घन गर्ने हामी, विधि उल्लङ्घन गर्न नदिँदा एउटा श्रमिकलाई पाँच दिन थुनामा राख भनेर थुनामा राख्ने पनि हामी ? यो भएन । यसलाई सरकारले तुरुन्तै ध्यान पुर्याओस् । र यो खालको घटना फेरि नदोहोरियोस् भनेर पनि म सरकारप्रति माग गर्न चाहन्छु साथै मन्त्रीले सार्वजनिक रूपमा माफी मागुन् भनेर पनि माफी माग गर्न चाहन्छु ।’