९ मंसिर २०८१, आइतबार 1732449402
Banner

सीट बाँडफाँटमा हिजो सहमति जुटन नसकेपछि कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । हिजो अवेरसम्म चलेको गठबन्धनको बैठकमा सिट बाँडफाँटमा कुरा नमिलेपछि आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा फेरि कार्यदलको बैठक बस्न लागेको हो ।

आजको कार्यदलले प्रतिवेदन तयार गरेर शीर्ष नेतृत्वलाई दिने सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले हिजो सञ्चारकर्मीसँग बताउनुभएको थियो । उहाँका अनुसार कार्यदलले आजको बैठकले गठबन्धनका शीर्षस्थ नेतालाई प्रतिवेदन बुझाउने तयारी छ ।

हिजोको बैठकले कार्यदलमा सिट बाँडफाँटको विषयमा करिब करिब सहमति भइसकेको र लिपिबद्ध गर्न बाँकी रहेको मन्त्रीको दाबी छ ।

स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुनेछ ।

कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।