काठमाडौं । भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भएको छ ।
मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको एक अस्पताल लगिएका उहाँको आज बुधबार बिहान निधन भएको हो ।
भारतको रङ्गिन दुनियाँमा ‘बप्पी दा’ को नामले परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो ।
सांगीतिक माहौल भएको परिवारमा उहाँको जन्म भएको थियो । बप्पीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक हुनुहुन्थ्यो भने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार हुनुहुन्थ्यो ।
१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पी दाले सन् १९७२ मा बंगली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिनुभएको थियो ।
बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिनुभएका बप्पी लहरीलाई भारतको डिस्को बादशाह समेत भनिन्थ्यो । अक्सर सार्वजनिक कार्यक्रमहरुमा प्रस्तुत हुँदा गला र हातमा सुनका ठूल्ठूला सिक्री लगाएर प्रस्तुत हुने बप्पी दा गहना र नगद बाँड्ने कामका लागि पनि चर्चित हुनुहुन्थ्यो ।