२६ जेष्ठ २०८३, मंगलबार 1781053301
Banner

दार्चुला बाढी अपडेट : २ जनाको मृत्यु, ४ जना बेपत्ता

धनगढी । दार्चुलामा गए रातिदेखिको वर्षाले ठूलो जनधनको क्षति गरेको छ। जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा एक महिलाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परी ३० वर्षीया किम्ती ठगुन्ना र पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको मृत्यु भएको हो। बालिकाको शव पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको उद्धार गरिएको छ।

यस्तै नौगाड गाउँपालिका २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छन्। पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको घाइते अवस्थामा उद्धार गरिएको छ। नौगाडमा पहिरोमा केही मानिस बेपत्ता भएको आशंका गरिएको छ।

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घर बगेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत मगरले हालसम्म ११ जना बेपत्ता भएको जानकारी दिए। दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको छ।

उद्धार र खोजी जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।