१८ असार २०८३, बिहिबार 1782979795
Banner

एमालेले तयार गर्‍यो २२० जना समानुपातिक उम्मेदवारको सूची, भोलि आयोगमा बुझाउने

काठमाडौँ । नेकपा एमाले समानुपातिक उम्मेदवारहरूको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको सूची टुंगो लगाएको हो ।

नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिनुभयो । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उहाँले जानकारी दिनुभयो । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उहाँले बताउनुभयो ।

गुरुङका अनुसार प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना, मधेस प्रदेशमा २३ जना महिला नघट्ने गरी ४३ जना, बागमती महिला २४ जना नघट्ने गरी ४४ जना, गण्डकीमा १३ महिला नघट्ने गरी २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरी ३५ जना कर्णालीमा ८ महिला नघट्ने गरी १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरी २१ जनाको नाम तयार गरिएको उहाँले बताउनुभयो ।
सोमबार एमालेले बन्दी सूची आयोगमा बुझाउने गुरुङ्गले बताउनुभयो ।