९ मंसिर २०८१, आइतबार 1732443111
पर्यटन

पर्यटकीय तथा पुरातात्विक महत्वको चन्द्रगढ ओझेलमा

झापा-भद्रपुर विमानस्थलबाट उत्तर साढे तीन किलोमिटरको दूरीमा ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ पर्यटकीयस्थल रहेको छ । जुन क्षेत्रको पर्याप्त विकास हुन नसक्दा वार्षिक रु पाँच करोडभन्दा बढीको आम्दानी गुम्नुका साथै ओझेलसमेत परेको छ ।

भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनभित्र रहेको यस स्थानमा राणाशासन कालमा चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरेको स्वतन्त्र विश्वकोष विकिपिडियामा उल्लेख छ तर, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गा भट्टराईले यसको इतिहासबारे अन्योल रहेको बताउनुभयो ।

उहाँका अनुसार सो क्षेत्रमा पानी नभएको दुईवटा पोखरी, थुम्की र इनार भग्नावशेषको रुपमा पाइन्छ । चार सय ३० हेक्टर क्षेत्रमा रहेको सामुदायिक वनभित्र रहेको चन्द्रगढमा विसं २०५५/०५६ तिर पुरातत्व विभागले उत्खननसमेत गरेको उहाँको भनाइ छ । उहाँले उत्खननका क्रममा पोखरी आसपास क्षेत्रभित्र माटाको भाडाकुँडा भेटिएको कार्यालयको अभिलेखमा रहेको जानकारी दिनुभयो ।

वन क्षेत्रको ४२ हेक्टर जमिनमा फैलिएको चन्द्रगढलाई पर्यटकीयस्थलमा विकास गर्नका लागि विसं २०६१/०६२ मा तत्कालीन मोरङ बहुमुखी क्याम्पसका प्रा डा सोमप्रसाद खतिवडा र इटहरीका चित्रकार विक्रम श्रीलगायतको विज्ञको टोलीले अवधारणा पत्रसमेत बनाएको थियो तर, सोअनुरुप बजेट अभावमा भने काम हुन नसकेको अध्यक्ष भट्टराईको भनाइ छ ।

भद्रपुर नगरपालिकाको पुष्पलाल मार्गको रिङरोडभित्र रहेको चन्द्रगढकै नामबाट झापाको सदरमुकामको नाम चन्द्रगढी रहन गएको अधिकांश पुराना मानिस बताउँछन् । सो क्षेत्रमा सुरुमा बस्ती र हालको जीवन ज्योति प्राथमिक विद्यालय रहे तापनि विसं २०३६ मा तत्कालीन सरकारले जग्गा सट्टा भर्ना गराएर सबै स्थान्तरण गरेको उहाँको भनाइ छ । उहाँले सो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनले २३ वटा आधार बनाएर काम गरिरहेको बताउनुभयो । वनलाई हराभरा बनाउने, पोखरीको थप उत्खनन गरी पानी भर्ने, पोखरीमा डुङ्गा चलाउने, वनभोजस्थललाई व्यवस्थित बनाउनेलगायतका काम गर्न नगरसँग समेत समन्वय भइरहेको बताउनुभयो ।

“पर्यटकीय क्षेत्रको हिसाबले जिल्लाकै सबैभन्दा धनी सामुदायिक वन हो चन्द्रगढी”, उहाँले भन्नुभयो, “विकास गर्न बाँकी छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको भौतिक पूर्वाधार निर्माणमा सहयोग रहेमा आन्तरिक र बाह्य पर्यटकबाट मात्र वार्षिक रु पाँच करोड आम्दानी गर्न सकिन्छ ।” उहाँले सो क्षेत्रको विकासलाई व्यवस्थित र आकर्षक बनाउन थप डिपिआर र गुरुयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख छुट्याएको बताउनुभयो ।

वनको आम्दानीको २५ प्रतिशत पूर्वाधार विकासमा खर्च गरिने नियमबमोजिम पर्यटन प्रवद्र्धनका लागि आठ हेक्टर जमिनमा धार्मिक तथा पर्यटकीय क्षेत्रलाई निर्माणको कार्य अघि बढाइएको छ । जसअन्तर्गत सो क्षेत्रमा एक हजार वटा आँपका बिरुवा रोप्नुका साथै तीन वटा गोलघर निर्माण गरिएको छ । अहिलेसम्म हात्ती नियन्त्रणका लागि तारको घेरावारा गर्दै छ किलोमिटरको क्षेत्रमा करेन्ट प्रवाह गरिसकिएको, वनभोजस्थलको निर्माण, शौचालय निर्माणलगायतका विभिन्न कार्यमा रु १५ लाख बराबरको खर्च भइसकेको छ । भद्रपुर नगरपालिकाबाट हालसम्म १६ वटा सोलार बिजुलीको पिलर जडान गरिदिए पनि बाँकी सबै खर्च भने वन समूहकै भएको समितिको कार्यालयले जनाएको छ ।