काठमाडौं । आज नवरात्रको छैठौं दिन हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी भगवतीको पुजा आरधना गरी मनाईदै छ ।
आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ । अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ । स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ । उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ । कात्यायनी शक्तिको कहिल्यै नसकिने स्वरुपको रुपमा पनि पुजा गरिन्छ ।
यससैगरी माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।
देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेको विश्वास गरिन्छ । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।