८ मंसिर २०८१, शनिबार 1732410309
Banner

गठबन्धनको कुनै गन्तब्य नै छैन : ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि एमालेको जित अपरिहार्य रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक सद्भाव खलबलिन नदिन राजनीतिक स्थायित्व आवश्यक पर्ने र त्यसका लागि एमालेको जित अपरिहार्य रहेको बताउनुभयो।

नेता पोखरेलले गठबन्धनको विचार, उद्देश्य र दृष्टिकोण नभएको तथ्य पनि औल्याउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धन जसको कुनै विचार, उद्देश्य दृष्टिकोण, गन्तव्य छैन। केवल एमालेलाई समाप्त गर्ने अपराधिक योजना छ । गठबन्धनको, विकास र समृद्धिको सपनामा पानी फेर्ने षडडयन्त्र मात्रै छ ।’

एमाले नेतृत्वको सरकारले गरेको काम नै एमालेको विजयको आधार रहेको भन्दै पोखरेलले मुलुकलाई बर्वादीतिर धकेल्ने गठबन्धनलाई सजाय दिने उपयुक्त अवसर मंसिर ४ भएको बताउनुभयो । पोखरेलले थप्नुभयो, ‘१४२ वटा नयाँ कानून हामीले निर्माण गर्‍यौं। देशलाई पृथकतावादी आन्दोलनमा लैजाने र देश टुक्रयाउन खोज्ने तत्वलाई राष्ट्रिय मूलधारमा ल्यायौं।’

सरकारमा रहँदा विदेश सम्बन्धलाई सुदृढ बनाएको उहाँको भनाई थियो। अब नाकाबन्दी नेपालले झेल्नु नपर्ने र यो ऐतिहासिक काम आफूहरुको पालामा भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित छ। एउटा एमाले र अर्को गठबन्धनले नेतृत्व गरेको छ। एमालेले नेतृत्व गरेको यो केन्द्रले देशको नेतृत्व गर्ने छ ।’