११ श्रावण २०८३, सोमबार 1785165059
Banner

मलाई टिकट नदिदा जनताको अपमान भयो : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकट नदिनु अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णय भएको टिप्पणी गरेका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै रावलले सर्वसम्मत एकल सिफारिस हुँदा पनि टिकट नदिनुले अछाम र सुदूरपश्चिमका जनताको अपमान भएको टिप्पणी गरे।

‘गत भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत सिफारिस भएको थियो। भदौ २२ गते सुदुरपश्चिम प्रदेश कमिटीले पनि एकल रुपमा सिफारिस गरेको थियो।’ उनले भने, ‘तर, अध्यक्ष केपी शर्मा ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरि पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’

अछाम १ बाट रावल एकल सिफारिस भए पनि अन्ततः माओवादीबाट एमाले प्रवेश गरेका झपट बहादुर बोहोरालाई एमालेले टिकट दिएको छ। रावलले आफूविरुद्ध जतिसुकै घेराबन्दी गर्दा पनि हराउन नसकिने देखेपछि टिकट नै नदिएको आरोप पनि लगाए।