११ श्रावण २०८३, सोमबार 1785150651
समाचार

राजस्व चुहावटको अभियोगमा मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी अपराध गरेको अभियोगमा बाग्लुङ नगरपालिका–७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मरको साथबाट केही समय पहिले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएको अवस्थामा दुई सय ३८ ग्राम सुनका तीन थान सिक्री बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको थियो ।

बरामद भएको सुनका सिक्री आफ्नो भएको दाबीसहित सरोज विभागमा उपस्थित भएका थिए । अनुसन्धानका क्रममा ती सुनको गहना राजस्व छलीको भएको पुष्टि भएको छ । विभागले उनीहरुविरुद्ध रु १८ लाख ९४ हजार दुई सय बराबरको बिगो दाबीका साथ कैद सजायको माग गरेर मुद्दा दायर गरेको आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।