२४ कार्तिक २०८१, शनिबार 1731139694
Banner

आसन्न निर्वाचन : एमालेको सिंह लम्काइ, गठबन्धनको जुम्स्याइँ

आम निर्वाचनको प्रत्यक्ष तर्फको मनोनयन प्रक्रिया सकिएसँगै देश अब पूर्ण रूपमा निर्वाचनमा होमिएको छ । यसबीचमा पाँचदलीय गठबन्धन भत्किएको छ र जनता समाजवादी पार्टीले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेलको लागि हात बढाएपछि सत्तारूढ पाँच दलीय गठबन्धनमा सङ्कट पैदामात्र भएको छैन, सबैलाई गुटमुट्याएर आफ्नो बहुमत ल्याउने कांग्रेसको षडयन्त्रको पनि पर्दाफास भएको छ ।

नेपाली कांग्रेस के कुरामा ढुक्क थियो भने माओवादी केन्द्र र माधव समूहलाई जति पेले पनि उनीहरू फर्केर एमालेसँग गठबन्धन गर्ने अवस्थामा छैनन् । एमाले-लोसपाको तालमेल हुने अवस्थासम्म जसपा एमालेसँग जाँदैन भन्ने नेपाली कांग्रेसको बुझाइ थियो । तर मधेशमा परिस्थितिले एकाएक कोल्टे फेर्यो । लोसपाका अधिकांश नेता एमाले प्रवेश गरेर एमालेको चुनाव–चिन्हमा चुनावी मैदानमा सामेल भएका छन् । लोसपाको ठूलो कार्यकर्ता पङ्क्ति र मतदाता पनि एमालेमा रूपान्तरित भइसकेका छन् । एक ढङ्गले भन्ने हो भने अब एमाले–लोसपा तालमेलको आवश्यकता नै परेन। जसपालाई देउवा(प्रचण्डले सिट बाँडफाँटमा पेल्दा मधेशमा नेपाली कांग्रेसभन्दा शक्तिशाली एमालेसँग जसपाले चुनावी तालमेल गर्यो । जसपाले एमालेसँग पनि तालमेल गरेपछि गठबन्धन थप धरापमा पर्यो । सबैतरबाट एमालेलाई एक्ल्याउने षणयन्त्र विफल भयो । सत्ता गठबन्धनभन्दा एमाले गठबन्धन शक्तिशाली बनेर उदायो । मधेश प्रदेश र सिङ्गो तराईमा गठबन्धनभन्दा एमाले-जसपा तालमेलले बढी सीट जित्ने अवस्था बनेको छ । पहाड र हिमाली जिल्लामा एमाले(राप्रपा र एमाले-राप्रपा नेपालको तालमेलले गठबन्धनलाई स्वभाविक रूपमा परास्त गर्नेछ ।

माओवादी केन्द्र र माधव समूहलाई लिलिपुट बनाउने गरी ती पार्टीका नेता कार्यकर्ताको लगातार एमालेमा प्रवेशले स्वयम् कांग्रेस पनि आश्वस्त हुन सकेको छैन । आफू सत्तामा हुँदासमेत आफ्ना कार्यकर्तालाई एमाले प्रवेश रोक्न नसकेको कांग्रेस माओवादी र समाजवादीमा गएको पहिरो देखेर अत्तालिएको छ । उदाहरणको लागि गुल्मीमा रामकुमारी झाँक्रीलाई गठबन्धन उमेद्वार बनाउन तयार भयो, तर झाँक्रीबाहेक अरू सबै एमालेमै फर्किए । त्यहाँ ‘डालोबाट मानोमा खन्याउन’ नेपाली कांग्रेस तयार भएको थियो, अब डालोबाट कचौरीमा खन्याउन नेपाली कांग्रेस तयार हुनुपर्ने भयो । श्रममन्त्री शेरबहादुर कुँवर अछाममा चुनाव लड्ने तयारी गर्दै थिए, माधव नेपालको पावरमा गठबन्धनको साझा उम्मेद्वार हुने तारतम्य मिलाउँदै थिए, माधव समूहको सिङ्गो अछाम जिल्ला कमिटी एमालेमा समाहित भयो, फर्कियो । अब ठिङ्गो शेरबहादुर कुँवरलाई नेपाली कांग्रेस र माओवादी केन्द्रका सबै मतदाताले शेरबहादुर कुँवरलाई उम्मेद्वार बनाउन वाध्य भए । ०७४ को निर्वाचनमा हुम्लामा स्वतन्त्रले चुनाव जिते पनि ती माननीय छक्कबहादुर लामा माओवादी नेता भएकोले हुम्ला आफ्नो भागमा पर्नु पर्ने बार्गेनिङ् गर्दागर्दै लामा आफ्नो दलबलसहित एमालेमा प्रवेश गरे । यस्ता कैयौं दृष्टान्त दिन सकिन्छ ।

यसरी हेर्दा ०७४ को संसदीय अङ्क गणितको सहायताले देउवा प्रधानमन्त्री बन्न सफल भए पनि ०७९को निर्वाचनमा प्रचण्ड र माधव समूहको मतदाताको अङ्क गणित त्यो अनुसार मिल्दैन । सत्ता गठबन्धनबाट जसपाको बहिर्गमनले आगामी संसदमा यो गठबन्धन अल्पमतमा उपस्थित हुने अवस्थामा पुर्याइदिएको छ ।

चुनाव हुनु करिब एक महिना अगाडि नै नेपाली जनताले आगामी पाँच वर्षको लागि एमाले अध्यक्ष के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने तयारी गरेजस्तो दखिएको छ । किनभने गठबन्धनले प्रधानमन्त्री पदमा ओलीसँग प्रतिस्पर्धा गराउन शेरबहादुर देउवाभन्दा अर्को व्यक्ति प्रस्तुत गर्ने सम्भावना छैन । चुनावसम्म नै राम्ररी टिक्ने अवस्थामा नरहेको गठबन्धन चुनावपछि कायम रहने कुनै सम्भावना छैन । गठबन्धन दलका छ्यापछ्याप्ती बागीले उनीहरूबीचको दरारलाई थप गहिरो बनाउने निश्चित छ ।

नेपाली जनताले गठबन्धन सरकारको खुट्टी देखिसकेका छन् । ०७४को चुनावमै जनताले प्रधानमन्त्री पदमा पुग्न शेरबहादुर देउवालाई रोकेकै हुन् । उनको प्रधानमन्त्रित्वबाट नेपाली जनता वाक्क भइसकेका छन् । नेकपा विभाजन गराएर देउवाको नेतृत्व जबर्जस्ती लादिएको मात्र हो । गठबन्धनसँग नेतृत्व पनि छैन, चुनावको लागि अजेन्डा पनि छैन । ‘काले काले मिलेर खाउँ भाले’ जस्तो चरित्र देखाएको गठबन्धनले जनताको मन जित्न कुनै चमत्कार गर्ने अवस्था पटक्कै छैन । ‘संविधान र लोकतन्त्र बचाउन गठबन्धन आवश्यक छ’ भन्ने सुगा रटाइबाहेक गठबन्धनसँग केही छैन ।

एमालेले भीम रावल, घनश्याम भुसाललाई टिकट दिएन, कमल थापालाई टिकट दियो भन्ने केही तात्कालिक मसलेदार विषय गठबन्धनले पाएको छ ।एमालेलाई पछाडिबाट छुरा धस्न खोज्ने प्रभु साहजस्ता ‘हरियो सर्प’लाई काँधमा बोकेर हिँड्न पाएको छ, ‘महान मार्क्सवादी’ घनश्याम भुसालको ढोडको तोक्मा पाएको छ ।

देशको प्रमुख शक्ति एमालेसँग प्रसस्त अजेन्डा छन् । आफ्नो सरकारको पालामा प्रचलनमा ल्याएको नेपालको चुच्चे नक्सा छ । मधेशतिर नयाँ रेल छ । पहाडतिर चिल्ला-चिल्ला बाटाघाटा छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग र मदन भण्डारी मार्गको धेरै कान ओली सरकारको पालामा सकिएको छ । देशभर ४०१५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । कोरिडोर र नयाँ पक्की पुल निर्माण भएका छन् । फास्ट ट्र्याक र सुरुङ् मार्ग निर्माणमा तीव्रता पाएको छ । बा आमाको खल्ती ओली सरकारले दिएको भत्ताले भरिएका छन् । भुकम्पले भताभुङ्ग भएको काठमाण्डौ सही सलामत खडा भएको छ । रिङ रोडलाई विस्तारित गरी सुन्दर बनाइएको छ । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेका छन्। जनताले आफ्नो घर दैलोमा इतिहासमै सबभन्दा राम्रो स्वास्थ्य सुविधा पाएका छन् । नेपाललाई भूपरिवेष्टितबाट भू-जडित राष्ट्र बनाइएको छ । यसबाट नेपाललाई दीर्घकालीन फाइदा पुग्ने निश्चित छ ।

अठारौं शताब्दीका प्रख्यात साहित्यकार अलेकज्यान्डर पोपले भनेका थिए ‘आजसम्मको अध्ययन मानिसको अध्ययन हो ।’ एमाले नेतृत्व पनि मान्छे नचिनेर पटक-पटक हैरान भएको छ । राम्रो अध्ययन, जाँच पडतालविना विभिन्न नेतालाई विभिन्न समयमा विश्वास गर्दा एमाले सङ्कटमा पर्दै आएको छ । ०७४मा प्रचण्डजस्तो बहुरङ्गी र विवादास्पद व्यक्तिलाई आवश्यकताभन्दा बढी विश्वास गर्नु र प्रभु साहलाई विश्वास गरेर उनलाई पार्टीमा त्यति ठूलो स्पेस दिनु यसका केही ज्वलन्त उदाहरण हुन् । देशको कायाकल्प गर्ने भिजन बोकेका के पी ओलीजस्ता नेताले नेतृत्व गरेको एमालेले यस्ता कमजोरी नगरे हुन्थ्यो भन्ने आम अपेक्षा हो । आम सदिक्षा हो ।

जे होस् मङ्सिर ४ को निर्वाचनले एमालेलाई बहुमत सीटमा विजयी बनाउन र के पी ओलीलाई प्रधानमन्त्री बन्नबाट अब कुनै शक्तिले रोक्न सक्ने छैन ।