काठमाडौं । नेपाली हास्य कलाकार जितु नेपाल पहिलो पटक आफूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘आइ एम जितबहादुर’ लिएर दर्शकमाझ आएका छन् । कलाकारिताको यात्रामा भोगेका उतार–चढाव, संघर्ष र जीवनका अनुभवलाई पर्दामा उतारिएको यो चलचित्र आगामी असार ५ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।
नेपाल टेलिभिजनका चर्चित हास्य टेलिशृंखलामार्फत अभिनय यात्रा सुरु गरेका जितु नेपालले यसपटक केवल अभिनय मात्रै होइन, निर्माणको जिम्मेवारी समेत आफैँ सम्हालेका छन् । लामो समय हास्य कलाकारका रूपमा दर्शकमाझ परिचित बनेका उनले आफ्नो जीवनको भोगाइलाई सिनेमाको कथामा रूपान्तरण गरेका हुन् ।

चलचित्रको कथा गाउँबाट ठूलो सपना बोकेर राजधानी छिरेको एक युवाको वरिपरि घुम्छ, जसले कलाकार बन्ने यात्रामा अनेक संघर्ष, असफलता र चुनौती सामना गर्छ । यही यात्राले अन्ततः उसको पहिचान र सफलताको बाटो बनाउँछ । निर्माण पक्षका अनुसार चलचित्रले संघर्ष, सपना, परिवार, सम्बन्ध र कलाकारिताभित्रको यथार्थलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।
चलचित्रमा जितु नेपालको मुख्य भूमिका रहेको छ भने प्रियंका कार्की, वर्षा राउत लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
वास्तविक जीवनबाट प्रेरित भएर बनेको ‘आइ एम जितबहादुर’ ले दर्शकलाई हँसाउने मात्र होइन, सपना पछ्याउने युवाको संघर्षसँग भावनात्मक रूपमा जोड्ने आफुहरुको विश्वास रहेको निर्मात एवम कलाकार जितु नेपालले जानकारी दिए । फिल्मको निर्देशन भारतीय निर्देशक शुभेन्दु घोसले गरेका छन् ।


