काठमाण्डौ । एमाले केन्द्रीय समितिका सदस्य तथा काठमाण्डौ क्षेत्र नम्बर ५ को क का प्रदेश सांसदका उम्मेदवार नारायण सिलवालले ऐतिहासिक र सांस्कृतिक महत्वका संरचनाको संरक्षण गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाण्डौ महानगरपालिकाको वडा नम्बर चारमा रहेको टुँडालदेवी मन्दिर, पञ्चकुमारी मन्दिर, विन्दवासिनी मन्दिर, चुनदेवी मन्दिर, वंशिधर श्रीकृष्ण मन्दिर लगायतका मन्दिर संरक्षणमा धेरै काम भएको उनले बताए ।
मठ मन्दिरका साथै अन्य भौतिक पूर्वाधार विकासका कामलाई पनि आफूले अगाडि बढाएको सिवालले बताए । आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने सबैखाले सडक व्यवस्थित बनाउनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै जाने उनको भनाई छ ।
सिलवालले मंसिरमा हुने निर्वाचनमा एमालेको नीति र एजेण्डा हेरेर मतदान गर्न आग्रह गरेका छन् । नेपालको संसदीय प्रणालीमा देशका लागि राम्रो काम गर्न सक्ने एमाले जस्तो पार्टीका उम्मेदवारलाई मतदान गर्नुको विकल्प नभएको उनको दाबी छ ।
७४ सालको निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा धेरै उल्लेखनीय काम गरेको उल्लेख गर्दै अबको निर्वाचनपछि पनि एमालेले नै सरकार बनाउन सक्ने गरी जनताले मतदान गर्नुपर्ने सिलवालको भनाई छ ।